बाजुरा, २५ जेठ । बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। शुक्रबार दिउँसो ग्यास सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
स्थानीय प्रशासनका अनुसार आगलागीमा परेर ३१ वटा व्यवसायिक पसल पूर्णरूपमा जलेका छन् भने अन्य सात पसलमा आंशिक क्षति पुगेको छ। दमकलको अभाव र चर्को हावा चलेका कारण आगो तत्काल नियन्त्रणमा ल्याउन कठिन भएको थियो।
घटनापछि विस्थापित भएका परिवारहरू हाल छिमेकी तथा आफन्तकोमा आश्रय लिएर बसेका छन्। आगलागीका कारण बजार क्षेत्रको फाइबर इन्टरनेट सेवा र विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ।
घटनापछिको व्यवस्थापनका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय राहत तथा पुनःस्थापना समिति गठन गरिएको छ। त्रिवेणी नगरपालिकासँगको संयुक्त बैठकले एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने र तीनवटै तहका सरकार तथा संघसंस्थालाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको त्रिवेणी नगरपालिकाले जनाएकाे छ ।
बुढीनन्दा नगरपालिकाले पीडितहरूलाई तत्कालका लागि एक लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिसकेको छ।