भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाइन

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाइन

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन्। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएर यसलाई पुष्टि गरेकी हुन्।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जिल्लामा एसईई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ। खगिसरा दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छन्। उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्न लागेकी हुन्।

भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसईई परीक्षामा सहभागी भएकी छन्। २०४६ मा उनको विवाह भयो। कक्षा ९ को वार्षिक परीक्षा दिने वेला हुँदै थियो,उनले छोरा जन्माइन्। सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै, पढाइ नै रोकियो।

पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन्। कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन्। पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप ज्ञान लिन लागि ३२ वर्षपछि पुनः पढ्न थालेको परीक्षार्थी भुसालले बताइन्।

उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका(५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन्। पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महशुस नभएको उनको भनाइ छ। भुसालका छोरा र छोरीबाट तीन नातिनातिना छन्। ‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ।’

भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन्। उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँ कार्यपालिका सदस्य बनेकी थिइन्। भुसाल अहिले पनि सक्रिय राजनीति गर्दै आएकी छन्। उनी कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला संघ बिहादीको कोषाध्यक्ष हुन्।

भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा पनि काम गरिसकेकी छन्। कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेवा छाडेकी हुन्। उनले २०४८ सालबाटै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन्।

‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन्। घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन्। भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता हुन्। उनी कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख छन्। रासस

 


Thali Mobile Pvt.Ltd.