भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन, २२ साउन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो ।

वार्षिक १६ हजार व्यक्तिले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए ।

जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत) को जटिल प्रसूति गराइएको थियो ।

अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । सो सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो ।

यस वर्ष विश्व स्तनपान सप्ताहको नारा, ‘स्तनपानलाई प्राथमिकता दिऔँ : दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने छ । पहिलो ६ महिनामा पूर्ण स्तनपानलाई बढावा दिन र आमाका लागि सुरक्षित सहयोगी वातावरण बनाउन जोड दिइएको छ ।

अस्पतालमा सुत्केरी आमाहरूलाई स्तनपानका लागि परामर्श र दूध सङ्कलन सेवा उपलब्ध गराइँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘हामी यहाँ जन्मने बच्चाहरूले आमाकै दूध खाउन् भन्ने चाहन्छौँ । केही आमाले आधुनिक जीवनशैली र भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिए पनि यो पूर्ण रूपमा गलत हो ।’

अस्पतालले भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने योजना बनाएको छ । अस्पतालकी स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा काउन्सिलरको रूपमा कार्यरत सकुन्तला ढकालले स्तन गाँनिएका वा बच्चाले राम्ररी दूध नचुसेका आमाहरूको सल्लाह र उपचार गरिने बताइन् ।

उनका अनुसार यहाँ विशेष मेसिनको प्रयोगबाट दूध निकालिने र आवश्यकताअनुसार भण्डारण वा सिधै प्रयोग गरिने व्यवस्था छ । उनले भनिन्, ‘कतिपय नयाँ आमाहरू दूध चुसाउन अप्ठ्यारो मान्नुहुन्छ, हामी उहाँहरूलाई यसको महत्व र बच्चा स्वस्थ हुने कुरा बुझाउँछौँ, अनि उहाँहरू सहमत हुनुहुन्छ ।’

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलका अनुसार नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि स्तनपान अत्यन्त आवश्यक छ । उनले आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वहरूले कुपोषण हटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.