भर्खरै : Sorry, your browser does not support inline SVG.

केही ठाउँमा ठूलो पानी पर्ने : भोटेकोशीसहित नदीहरूको अवस्थाबारे मौसम विभागको निरन्तर अनुगमन

केही ठाउँमा ठूलो पानी पर्ने : भोटेकोशीसहित नदीहरूको अवस्थाबारे मौसम विभागको निरन्तर अनुगमन

काठमाडौं, ५ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि रातिसम्म देशका धेरैजसो भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा ठूलो वर्षा हुन सक्ने अनुमान गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको छ। राति पनि ती चार प्रदेशसँगै सुदूरपश्चिमका केही ठाउँहरूमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा रातिको समयमा समेत ठूलो पानी पर्ने चेतावनी दिइएको छ। वर्षाको परिमाण अनुसारको वर्गीकरण यस्तो छ:

  • १० मिमीभन्दा कम – हल्का वर्षा

  • १०–५० मिमी – मध्यम वर्षा

  • ५०–१०० मिमी – भारी (ठूलो) वर्षा

  • १००–२०० मिमी – धेरै ठूलो वर्षा

  • २०० मिमीभन्दा माथि – अति ठूलो वर्षा

हाल देशका विभिन्न स्थानमा वर्षा जारी छ। यसैबीच, भोटेकोशी, सुनकोशी लगायतका नदी क्षेत्रमा चीनको प्रहरी कार्यालयबाट अत्यधिक वर्षाको सूचना आएको भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरप्रति मौसम विभागले ध्यानाकर्षण जनाएको छ।

विभागले भनेको छ भूउपग्रह चित्र र मौसम विश्लेषणअनुसार ती क्षेत्रमा मनसुनी प्रभाव देखिए पनि त्यसको प्रभाव हाललाई कमजोर छ, र हाललाई हल्कादेखि मध्यम वर्षा मात्र हुने सम्भावना रहेको छ।

यद्यपि, आकस्मिक परिवर्तन र बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै विभागले भोटेकोशी लगायतका नदी क्षेत्रहरूको निरन्तर अनुगमन भइरहेको र अद्यावधिक सूचना सार्वजनिक गरिरहने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.