भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

एकै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

एकै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

झापा, १५ साउन । विर्तामोड नगरपालिका ७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ।

उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ। भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन्।

हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ। सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती शुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन्। उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सात सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए।

‘पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ। यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन’, खनालले भने।

हाल बोडी प्रतिकेजी ३० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए। नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ।

वार्षिक एक करोड मुनाफा

खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छ भने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन्। यसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उहाँले जानकारी दिए।

धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ। ‘प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ। मैले मात्र आम्दानी गरेको होइन। दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन्। उपभोक्ताले पनि स्वदेशी र ताजा तरकारी खान पाउनुभएको छ। यस वर्ष वार्षिक रु दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरेको छु’, खनालले भने।

उनले सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाए। ‘एउटै अम्बक आधा केजीसम्मको फल्न थालेको छ। हाल आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ। फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन्’, खनालको भनाइ छ।

विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन ‘पारिको होइन वारिको’ भन्ने अभियान नै सञ्चालन गरिरहेको छ। नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषक अभियानमा जोडिएको र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पुर्‍याइरहेको बताउँछन्।।

‘नगरपालिकाले बोडीको समर्थन मूल्य प्रतिकेजी ३० रुपैयाँ तोकेको छ। उक्त मूल्यमा बिक्री नभए तौलको आधारमा घाटा पूर्ति रकम उपलब्ध गराउँदै आएका छौँ। यसमा मात्रै होइन अन्य उत्पादनमा पनि कृषकलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ’, उनले भनेर । रासस

 


Thali Mobile Pvt.Ltd.