भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरे कडा कारबाही हुने, विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरे कडा कारबाही हुने, विभागको चेतावनी

काठमाडौं, १९ असार । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। विभागले आमजनताको स्वास्थ्यमा जोखिम सिर्जना हुने गरी सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले सङ्क्रमित पन्छीको बिक्री–वितरणले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सबै व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए।

गत चैतदेखि देशका ११ जिल्लामा बर्डफ्लु पुष्टि भएपछि रोग नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा रोग नियन्त्रण तथा निगरानीलाई तीव्र बनाइएको छ।

विभागका अनुसार प्रभावित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय रूपमा परिचालन गरिएको छ। केही जिल्लामा सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि रोग अन्य क्षेत्रमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको जनाइएको छ।

विभागले मरेका कुखुरा वा अन्य पन्छी जथाभावी फाल्न नहुने र सङ्क्रमित पन्छी नष्ट गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। लापरवाही गर्दा भाइरस मानिसमा समेत सर्न सक्ने जोखिम रहने विभागको चेतावनी छ।

हालसम्म काठमाडौं उपत्यकासहित प्रभावित ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।

विभागले प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन, मुचुल्का संकलन तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण सङ्कलनको काम जारी रहेको पनि जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.