सन् २००१ मा ‘ब्रिक’ शब्द लगानीसम्बन्धी विश्लेषणका रूपमा प्रयोग भएको थियो ।
ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको सहकार्य सन् २००९ मा औपचारिक समूह बन्यो ।
दक्षिण अफ्रिका जोडिएपछि सन् २०११ मा यसको नाम ‘ब्रिक्स’ राखियो ।
सन् २०२४ देखि इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्य बने ।
सन् २०२५ मा इन्डोनेसिया पनि सदस्य बनेपछि समूहको आकार अझ विस्तार भयो ।
विस्तारित ब्रिक्समा विश्वको करिब ४५ प्रतिशत जनसंख्या रहेको दाबी गरिएको छ ।
विश्व अर्थतन्त्र र व्यापारमा समेत ब्रिक्सको हिस्सा उल्लेख्य रहेको छ ।
अमेरिकी डलरमाथिको निर्भरता घटाउँदै स्थानीय मुद्रामा कारोबार बढाउने प्रयास भइरहेको छ ।
काठमाडौं, २६ भदौ । सन् २००१ मा अमेरिकी लगानी बैंकका अर्थशास्त्री जिम ओ’निलले उदीयमान बजारहरूको आर्थिक सम्भावना देखाउन प्रयोग गरेको ‘ब्रिक’ शब्द अहिले विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव पार्ने शक्तिशाली समूहका रूपमा विकसित भएको छ ।
लगानीकर्तालाई उदीयमान अर्थतन्त्रको सम्भावना बुझाउन प्रयोग गरिएको चार अक्षरको शब्दावली दुई दशकको अवधिमा विश्व शक्ति सन्तुलनमा प्रभाव पार्ने बहुपक्षीय समूहका रूपमा विस्तार भएको हो । भारतको नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना हुँदैछ । सम्मेलनको पूर्वसन्ध्यामा ब्रिक्सको बढ्दो आकार र विश्व राजनीतिमा यसको प्रभावलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ ।
सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनका विदेशमन्त्रीबीचको अनौपचारिक संवादबाट ब्रिक्स सहकार्यको सुरुवात भएको थियो । त्यसपछि सन् २००९ मा रुसमा पहिलो शिखर सम्मेलन आयोजना भएसँगै समूहले औपचारिक स्वरूप प्राप्त गरेको थियो । सन् २०११ मा अफ्रिकी महादेशको प्रतिनिधित्व गर्दै दक्षिण अफ्रिका समूहमा प्रवेश गरेपछि यसको नाम ‘ब्रिक्स’ राखिएको थियो ।
सुरुवाती चरणमा आर्थिक सहकार्य र व्यापारिक समन्वयमा केन्द्रित रहेको समूह पछिल्लो समय विकासोन्मुख मुलुकहरूको साझा आवाजका रूपमा प्रस्तुत हुन थालेको छ । ब्रिक्सको विस्तारमा सन् २०२३ को जोहानेसबर्ग सम्मेलनलाई महत्वपूर्ण मोडका रूपमा लिइन्छ । उक्त सम्मेलनले अन्य उदीयमान अर्थतन्त्रलाई समेत समूहमा सहभागी गराउने बाटो खुला गरेको थियो ।
यसको परिणामस्वरूप सन् २०२४ जनवरीदेखि इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स समूहका सदस्य बने । त्यसपछि सन् २०२५ जनवरीमा दक्षिण–पूर्वी एसियाको ठूलो अर्थतन्त्र इन्डोनेसिया पनि ब्रिक्समा सहभागी भयो । त्यसैगरी मलेसिया, थाइल्यान्ड, भियतनाम, क्युबा, नाइजेरिया र बेलारुसलगायतका मुलुक साझेदार राष्ट्रका रूपमा जोडिएका छन् । यसले ब्रिक्सको प्रभावलाई विभिन्न क्षेत्र र महादेशसम्म विस्तार गरेको छ ।
ब्रिक्सको प्रभाव सदस्य राष्ट्रको संख्यामा मात्रै सीमित छैन । विस्तारित समूहले विश्वको करिब ४५ प्रतिशत जनसंख्या समेट्ने र विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत हिस्सा ओगट्ने दाबी गरिएको छ । विश्व व्यापारमा समेत यसको हिस्सा करिब २० प्रतिशत रहेको बताइएको छ ।
ऊर्जा स्रोतका दृष्टिले महत्वपूर्ण मध्यपूर्व र रुस, विश्वकै प्रमुख उत्पादन केन्द्र चीन, तीव्र गतिमा विस्तार भइरहेको ठूलो उपभोक्ता बजार भारत तथा प्राकृतिक स्रोतमा समृद्ध ब्राजिल र अफ्रिकी मुलुकहरूको सहभागिताले ब्रिक्सको आर्थिक क्षमता थप बलियो बनाएको देखिन्छ ।
समयसँगै ब्रिक्सले आफ्नो सहकार्यलाई आर्थिक तथा वित्तीय विषयमा मात्र सीमित नराखी प्रविधि हस्तान्तरण, कृषि, जनस्वास्थ्य, बौद्धिक आदानप्रदान र सांस्कृतिक सहकार्यसम्म विस्तार गरेको छ ।
अमेरिकी डलरमाथिको परम्परागत निर्भरता घटाउने उद्देश्यले सदस्य राष्ट्रबीच स्थानीय मुद्रामा व्यापार तथा वित्तीय कारोबार बढाउने प्रयास पनि भइरहेको छ । यसले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा समेत नयाँ बहस सिर्जना गरेको छ ।
नयाँ दिल्लीमा आयोजना हुने १८औँ शिखर सम्मेलन पनि बदलिँदो विश्व परिस्थितिका बीच हुँदैछ । युक्रेन युद्ध, मध्यपूर्वको तनाव तथा अमेरिका र चीनबीचको व्यापारिक प्रतिस्पर्धाले विश्व राजनीति थप ध्रुवीकृत भइरहेका बेला ब्रिक्सको सम्मेलन हुन लागेको हो ।
यस्तो अवस्थामा नयाँ दिल्लीबाट ब्रिक्सले बहुध्रुवीय विश्व व्यवस्था, विकासोन्मुख राष्ट्रको आर्थिक स्वायत्तता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा दिने सन्देशलाई आगामी विश्व राजनीति र अर्थतन्त्रका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।
