काठमाडौँ, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि संसद्मा त्यसबारे जानकारी तथा ब्रिफिङ नगरेको बताए ।
प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेमा त्यसबाट पन्छिन नहुने आङ्देम्बेको भनाइ थियो । उनले संसद् प्रधानमन्त्रीको इच्छा र अनुकूलताअनुसार चल्ने संस्था नभएको स्मरण गराए ।
‘प्रधानमन्त्री के काममा व्यस्त हुनुहुन्छ, थाहा हुनुपर्दैन ? के संसद् आफूलाई मन परेको बेला आउने, मन नपरेको बेला उठेर जाने मधुशालाजस्तै हो ? किमार्थ पनि होइन,’ आङ्देम्बेले भने । उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने भए त्यसको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने बताए । संसद् र संसद्मा उठेका प्रश्नबाट भाग्नुभन्दा त्यसलाई सम्मान गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘संसद्लाई सम्मान गर्नुस् । संसद्मा उठेका प्रश्नलाई सम्मान गर्नुस् । यसले तपाईंलाई कमजोर बनाउँदैन, बलियो नै बनाउँछ,’ उनले भने ।आङ्देम्बेले संसद् लोकतन्त्रको पाठशाला भएको उल्लेख गर्दै परम्परा परिवर्तन गर्ने नाममा गलत परम्परा स्थापित नगर्न पनि प्रधानमन्त्रीलाई सचेत गराए ।
‘सबै परम्परालाई तोड्छु, भत्काउँछु भन्दा आफैँ बुमर्याङमा पर्नुहोला,’ उनले भने ।यसअघि पनि आङ्देम्बेले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने र विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री संसद्मा उपस्थित हुने संसदीय अभ्यास रहेको विषय उठाउँदै आएका छन् ।
