काठमाडौं, १४ असाेज । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बहिस्कार गरेकी छन् ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेको थियो । सोही क्रममा सांसद सिद्धिकी बैठकबाट बाहिरिएकी हुन् ।
सिद्धिकीका अनुसार बैठकमा सभापतिले छलफललाई नियन्त्रणमा राख्न नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गरेको भन्दै उनले असहमति जनाएर बैठक छाडेकी हुन् ।
प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्न नभएकालाई कानुनी प्रक्रियाअनुसार थुनामुक्त गर्ने विषयप्रति पनि सिद्धिकीले असहमति जनाएकी छन् । अपराधमा संलग्न व्यक्तिलाई सजायसम्बन्धी स्पष्ट व्यवस्था आवश्यक रहेको उनको धारणा छ ।
त्यस्तै, सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गर्ने विषय तथा कैदीबन्दीमध्येबाटै कैदीबन्दीको नाइके बनाउने प्रस्तावप्रति पनि उनले असहमति जनाएकी छन् ।
संसद्को आधिकारिक अभिलेखअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उक्त कारागार तथा हिरासतसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि सांसदहरूले धारणा राखेका थिए । समितिमा सिद्धिकी एमालेबाट सदस्य छिन् ।
