३५ वर्ष पुरानो अध्यागमन ऐन २०४९ संशोधनको तयारी ।
हालका ९ प्रकारका भिसाको सट्टा १७ प्रकारका नयाँ भिसा प्रस्ताव ।
विदेशी खेलाडीका लागि स्पोर्ट्स भिसाको व्यवस्था गरिँदै ।
उपचार र योग–ध्यानका लागि क्रमशः मेडिकल र स्पिरिचुअल भिसा प्रस्ताव ।
विदेशी नागरिकको आगमन, उद्देश्य र गतिविधिको निगरानीमा जोड दिने विभागको तयारी ।
काठमाडौँ, १५ असाेज । सरकारले ३५ वर्ष पुरानो अध्यागमन ऐन संशोधन गर्दै विदेशी नागरिकको आवागमन र गतिविधिलाई थप व्यवस्थित गर्ने तयारी गरेको छ । हाल कायम ९ प्रकारका भिसालाई पुनर्संरचना गरी १७ प्रकारका नयाँ भिसा प्रस्ताव गरिएको अध्यागमन विभागले जनाएको छ ।
नेपालमा विदेशी नागरिकको व्यवस्थापन तथा नियमन गर्ने मुख्य कानुन अध्यागमन ऐन २०४९ हो । लामो समयदेखि ऐन तथा नियमावली संशोधन हुन नसक्दा बदलिँदो आवश्यकता र विदेशी नागरिकका विभिन्न गतिविधिलाई विद्यमान भिसा प्रणालीले सम्बोधन गर्न नसकेको विभागको भनाइ छ ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले अहिलेको भिसा प्रणालीमा नीतिगत समस्या र कानुनी अभाव रहेको स्वीकार गर्दै नयाँ अध्यागमन विधेयकमार्फत समग्र भिसा प्रणाली पुनर्संरचना गर्न लागिएको जानकारी दिए ।
हाल नेपालमा पर्यटक, अध्ययन, वैवाहिक, कूटनीतिक, सरकारी, नाता, गैरपर्यटक, कामदार र व्यवसायिक गरी ९ प्रकारका भिसा छन् । नयाँ विधेयकमा विदेशी नागरिकले नेपालमा गर्ने काम र उद्देश्यअनुसार छुट्टाछुट्टै भिसा उपलब्ध गराउने गरी १७ प्रकारका भिसा प्रस्ताव गरिएको छ ।
विभागका अनुसार नयाँ विधेयक गृह मन्त्रालयमार्फत अघि बढाइएको छ । मन्त्रालयबाट प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् हुँदै संसद्मा विधेयक दर्ता हुनेछ ।प्रवक्ता ढकालले विगतमा अध्यागमन प्रशासन नेपाली नागरिकलाई विदेश जान रोक्ने विषयमा बढी केन्द्रित भएको र विदेशी नागरिकको आगमन तथा गतिविधिको निगरानीमा पर्याप्त ध्यान पुग्न नसकेको बताए । अब भने विदेशी नागरिकको आगमन, उद्देश्य र गतिविधिको निगरानीलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।
नयाँ व्यवस्थाले खेलाडीका लागि पनि छुट्टै स्पोर्ट्स भिसाको व्यवस्था गर्ने प्रस्ताव गरेको छ । हाल अन्तर्राष्ट्रिय खेलाडीहरू नेपालमा प्रतियोगिता खेल्न आउँदा पर्यटक वा कामदार भिसासम्बन्धी समस्या देखिँदै आएको विभागले जनाएको छ ।
यसैगरी साहसिक खेलका लागि नेपाल आउने विदेशीलाई छुट्टै भिसाको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रिमियर लिगजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता बढिरहेका बेला खेलाडीसम्बन्धी भिसा व्यवस्थालाई स्पष्ट बनाउन खोजिएको हो । त्यस्तै उपचारका लागि नेपाल आउने विदेशीलाई लक्षित गर्दै मेडिकल भिसा र लामो समय नेपालमा बसेर योग, ध्यान तथा साधना गर्न चाहने विदेशीका लागि स्पिरिचुअल भिसाको व्यवस्था प्रस्ताव गरिएको छ ।
नेपालको प्राकृतिक वातावरण, हावापानी तथा धार्मिक–आध्यात्मिक महत्त्वका कारण उपचार, योग तथा ध्यानका लागि विदेशी आउने क्रम बढे पनि हाल उनीहरू पर्यटक भिसामै निर्भर हुनुपर्ने अवस्था रहेको विभागको भनाइ छ । नयाँ अध्यागमन विधेयक पारित भएपछि विदेशी नागरिकले आफ्नो उद्देश्यअनुसार उपयुक्त भिसा प्राप्त गर्ने र हाल देखिएका भिसा दुरुपयोग तथा कानुनी अन्योललाई सम्बोधन गर्न सहज हुने विभागको अपेक्षा छ ।
