इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प

इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउने दुवै विकल्प खुला रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको विवाद छिट्टै कुनै न कुनै निष्कर्षमा पुग्ने बताएका हुन् । यसअघि पनि उनले इरानसँग सम्झौताको सम्भावना खुला राख्दै थप सैन्य कारबाहीको विकल्पसमेत रहेको बताएका थिए । 

इरानले पछिल्लो समय सात दिनको युद्धविराम र त्यसपछि रणनीतिक हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव अघि सारेको छ । त्यसको बदलामा अमेरिकी नाकाबन्दी हटाउने, रोक्का गरिएका इरानी सम्पत्तिमा सहजीकरण गर्ने र तेलसम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो । तर ट्रम्पले इरानको पछिल्लो प्रस्ताव अस्वीकार गरिसकेका छन् । यद्यपि, अमेरिका र इरानबीच कतारलगायत मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता भने जारी रहेको छ । पछिल्ला रिपोर्टअनुसार दुवै पक्षले हर्मुज पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा संशोधित प्रस्तावबारे समेत छलफल गरिरहेका छन् ।

हर्मुज जलमार्गको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ । यो जलमार्गबाट हुने तेल तथा ग्यास आपूर्ति प्रभावित हुँदा विश्व बजारमा ऊर्जा मूल्य र आपूर्ति शृङ्खलामा समेत असर परेको छ । पछिल्लो समय खाडी क्षेत्रबाट तेल निर्यातमा केही सुधार देखिए पनि अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । 

यसैबीच, इरानले कूटनीतिक समाधानको पक्षमा रहेको बताउँदै आएको छ भने अमेरिकाले सम्झौताका लागि थप सहुलियत र प्रतिबद्धता खोजिरहेको देखिन्छ । दुवै पक्षबीच वार्ता र सैन्य तनाव समानान्तर रूपमा अघि बढिरहेको अवस्थामा आगामी कदमबारे अझै अनिश्चितता कायमै छ ।

 


Thali Mobile Pvt.Ltd.