चैते धान रोपाइँमा किसान व्यस्त, समर्थन मूल्य तोक्ने अन्तिम तयारीमा सरकार

चैते धान रोपाइँमा किसान व्यस्त, समर्थन मूल्य तोक्ने अन्तिम तयारीमा सरकार

मुख्य बुँदा)

देशभर किसान चैते धान रोपाइँमा व्यस्त

सरकारले समर्थन मूल्य तोक्ने अन्तिम तयारीमा

२५ जिल्लामा अध्ययनपछि मूल्य निर्धारण प्रक्रिया अन्तिम चरणमा

लागत, ढुवानी र बजार मूल्यका आधारमा मूल्य तय हुने

गत वर्ष तोकिएको मूल्य किसानले नपाएको गुनासो

आयातित धानका कारण स्थानीय उत्पादनको मूल्य प्रभावित

भण्डारण, सिँचाइ र प्रविधि अभाव मुख्य चुनौती

काठमाडौँ, ५ फागुन । देशभरका किसान यतिबेला चैते धान रोपाइँमा व्यस्त रहेका छन् । फागुनमा छरेको बीउ चैतमा रोपेर जेठको मध्यतिर भित्र्याउने गरिन्छ ।

किसान खेतमा व्यस्त भइरहँदा सरकारले भने चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने अन्तिम तयारी गरिरहेको छ । कृषि विभाग ले २५ जिल्लामा स्थलगत अध्ययन गरी आवश्यक तथ्यांक संकलन गरिसकेको जनाएको छ । विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद कोइराला का अनुसार समर्थन मूल्य निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बीउ, उत्पादन लागत, ढुवानी खर्च र बजार मूल्यका आधारमा मूल्य तय गरिनेछ ।

विभागले वैज्ञानिक आधारमा मूल्य निर्धारण गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय मा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गरी औपचारिक रूपमा मूल्य सार्वजनिक गरिनेछ । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गरिने व्यवस्था छ ।

यद्यपि किसानहरूले अघिल्ला वर्षहरूमा सरकारले तोकेको समर्थन मूल्यसमेत नपाएको गुनासो गर्दै आएका छन् । गत वर्ष सरकारले प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ समर्थन मूल्य तोके पनि किसानले करिब २ हजार २०० रुपैयाँ मात्र पाएको बताएका थिए । भारतबाट आयातित सस्तो धानका कारण नेपाली किसानले उचित मूल्य नपाएको गुनासो छ । भण्डारण अभाव, बजार समस्या र लागत नउठ्ने अवस्थाका कारण कतिपय किसान कृषि क्षेत्रबाटै पलायन भइरहेका छन् ।

नेपालमा तराई, हर्दिनाथ १, हर्दिनाथ ३, चैते २, ५ र ६ जातका धान सिफारिस गरिएका छन् । यी धान १२०–१२५ दिनमा पाक्ने र ४.०३ देखि ५.५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने क्षमता राख्छन् । सरकारले धान–चामलमा आत्मनिर्भर बन्ने लक्ष्यसहित चैते धान प्रवर्द्धनमा जोड दिँदै आएको भए पनि सिँचाइ अभाव, गुणस्तरीय बीउ, मल र प्रविधिको कमी अझै चुनौतीका रूपमा रहेका छन् ।