काठमाडौं, २० भदौ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चीन सरकारले उपलब्ध गराएका ड्रोनको त्रिशूली क्षेत्रमा परीक्षण तथा प्रयोग सुरु गरिएको छ ।
चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो । ती ड्रोनमार्फत सडकमार्गबाट पुग्न कठिन तथा जोखिमपूर्ण क्षेत्रमा राहत सामग्री पुर्याउने तयारी गरिएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोनलाई आवश्यकता अनुसार प्रभावित क्षेत्रमा परिचालन गरिनेछ ।
बाढी र पहिरोका कारण सडकमार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका स्थानमा राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्रिशूली क्षेत्रमा परीक्षण तथा प्रयोग सुरु गरिएका यी ड्रोनलाई आगामी दिनमा रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ । दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री छिटो पुर्याउन ड्रोनको प्रयोग उपयोगी हुने अपेक्षा गरिएको छ ।
