भर्खरै : Sorry, your browser does not support inline SVG.

दार्चुलाको छाङरु र तिंकरका मतदाताले खलङ्गामै मतदान गर्नुपर्ने

दार्चुलाको छाङरु र तिंकरका मतदाताले खलङ्गामै मतदान गर्नुपर्ने

दार्चुला, २६ पुष । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु र तिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा पुगेर मतदान गर्नुपर्ने भएको छ। गत मङ्सिरमा दुवै गाउँका स्थानीय अस्थायी बसाइसराइ (कुञ्चा) गरी खलङ्गा झरेपछि मतदान केन्द्र पनि खलङ्गामै कायम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार विसं २०७९ को स्थानीय तह निर्वाचनमा छाङरु र तिंकरमै मतदान केन्द्र राखिएको भए पनि यसपटक स्थानीय बासिन्दा स्थानान्तरण भएकाले दुवै मतदान केन्द्र सदरमुकाममा सारिएको हो। सम्बन्धित वडामा दुईवटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधारभूत विद्यालय छाङरु मतदान केन्द्रमा ३७५ जना र मोति महिला सङ्घ आधारभूत विद्यालय तिंकर मतदान केन्द्रमा २४४ जना मतदाता कायम छन्। विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ मतदाता थिए ।

यसैबीच प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभर ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तीमध्ये २२ मतदान केन्द्रलाई अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखिएको छ । भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव तथा सुरक्षा निकायको पहुँचलाई आधार मानेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यसपटक दार्चुलामा विसं २०७९ को निर्वाचनको तुलनामा दुई हजार १६६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ९० हजार ७८२ मतदाता रहेकामा हाल बढेर ९२ हजार ९४८ पुगेको छ । कुल मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला छन्। जिल्लाका नौ स्थानीय तहमा शैल्यशिखर नगरपालिकामा सबैभन्दा धेरै १५ हजार ५१६ मतदाता रहेका छन् भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम छन्। यस्तै, अपी हिमाल गाउँपालिकामा सबैभन्दा कम चार हजार ७९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

Mohotsav


Thali Mobile Pvt.Ltd.