भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

काठमाडाैं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन्। विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौताअनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो।

वर्षायाममा मालबाहक तथा यात्रुबाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएको छ। पुनर्निर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन्।

उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौताअनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको छ। यसले निर्माण कहिले पुनः सञ्चालन हुन्छ भन्ने अन्योल बढेको स्थानीय बताउँछन्। जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो। कम्पनीले विसं २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २० मा रु. २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो।

पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ। सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्द गरेपछि निर्माण अनिश्चित बनेको हो। सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो। सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लोपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ। अब प्रक्रिया पुर्‍याएर केही हप्तामा पुनः ठेक्का खोल्ने तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।

उनका अनुसार भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत गरी पुनः ठेक्का लगाइनेछ। हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ। हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा ‘कटिङ’को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ‘ड्रेनवाल’ लगाउने काम गरिएको छ। ‘जिपलाइनबाट तल खावासम्मको भत्काइएको सडकमध्ये करिब एक किलोमिटर भागमा कटिङको काम गर्न बाँकी छ,’ उनले भने।

गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो। पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आएका केदार ढुंगानाले करिब दुई घण्टा सडक जाममा परेको बताए। ‘उक्त खण्ड निर्माण यथाशीघ्र सम्पन्न नभए यो बाटो भएर वर्षायाममा यात्रा गर्न थप सास्ती हुनेछ,’ उनले भने। यस्तै, राजमार्गमा चल्ने दुईपांग्रे सवारीसाधनलाई उक्त खण्ड पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो।

उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो। अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो। रासस

 


Thali Mobile Pvt.Ltd.