भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

धनकुटाको ध्वजेडाँडा बहुसांस्कृतिक पार्क : उदीयमान पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै

धनकुटाको ध्वजेडाँडा बहुसांस्कृतिक पार्क : उदीयमान पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै

धनकुटा, २४ मंसिर । छथर जोरपाटी गाउँपालिका–६ मा अवस्थित ध्वजेडाँडा बहुसाँस्कृतिक पार्क पछिल्ला वर्षहरूमा जिल्लाको ‘उदीयमान पर्यटकीय आकर्षण’ का रूपमा द्रुत गतिमा विकसित भइरहेको छ।

समुन्द्री सतहबाट करिब २,३०० मिटर उचाइमा रहेको ध्वजेडाँडा पहिल्यैदेखि सूर्योदय, सूर्यास्त र हिमश्रृङ्खलाको अद्भुत दृश्य हेर्न मिल्ने स्थानका रूपमा स्थानीयमै सिमित थियो।

तर भौतिक पूर्वाधार विस्तार र आयोजना गरिएको संरचना विकाससँगै अहिले यहाँ आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आकर्षण बढिरहेको छ।

ध्वजेडाँडा पार्कको प्रमुख विशेषता यसको बहुसांस्कृतिक संरचना हो। यहाँ लिम्बु समुदायको ‘सिलाम साक्मा’, र मगर समुदायको ‘खुर्पेटो स्तम्भ’ निर्माण गरिएको छ। यी संरचनाले स्थानीय जातीय कला, संस्कृति, परम्परा र पहिचानलाई पर्यटकसमक्ष प्रत्यक्षरूपमा प्रस्तुत गर्छन्।

यसबाहेक पार्कतर्फ जाने बाटोको दुवैतर्फ ‘छथर ग्रेटवाल’ नामक आकर्षक इँटाको पर्खाल बनेको छ, जसले दृश्य र यात्रा अनुभव दुवैलाई नयाँ सौन्दर्य प्रदान गरेको छ।

गाउँपालिका अध्यक्ष छत्र सुब्बाका अनुसार, ध्वजेडाँडालाई जिल्लाकै प्रमुख पर्यटकीय र सांस्कृतिक गन्तव्य बनाउने दीर्घ योजना अघि बढाइएको छ। उनका अनुसार अन्य सम्भावित स्थानहरूमा पनि समान पर्यटन पूर्वाधार विस्तार भइरहेको छ।

ध्वजेडाँडाको विकास केवल पर्यटनमा सीमित छैन। स्थानीय पानीका मुहानहरू सुक्दै गएपछि निबुवा–ताङखुवा जलाधार संरक्षणलाई पनि प्राथमिकता दिइएको छ। डिफ्याक र इसिमोडको साझेदारीमा सिँचाइ पोखरी, वर्षा–पानी संकलन, जलस्रोत संरक्षणलगायतका गतिविधि भइरहेका छन्।

पार्क परिसरमै निर्माण गरिएको डालेपोखरीले अब आसपासका खेतबारीलाई सिँचाइ सुविधा पुर्‍याइरहेको हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेल बताउँछन्। पर्यटन पूर्वाधार विस्तार भए पनि प्रचार–प्रसार अझै कमजोर रहेको पर्यटक पल्लव पण्डितको भनाइ छ।

‘यति सुन्दर ठाउँ प्रचार भएको भए बाहिरका मानिस झन् धेरै आउँथे,’ पण्डित भन्छन्। ध्वजेडाँडा धारापानी मूल संरक्षण समितिका अध्यक्ष जगत सिंगालीका अनुसार पार्क विकासको उद्देश्य केवल संरचना निर्माण मात्र नभई स्थानीय जातीय परम्परा र संस्कृतिको प्रवर्धन पनि हो।

उनका अनुसार, ‘स्थानीय सक्रियता, आन्तरिक–बाह्य पर्यटनको समन्वय र प्रभावकारी प्रचार भए ध्वजेडाँडा प्रमुख गन्तव्य बन्न धेरै समय लाग्दैन।’ हालसम्म गाउँपालिका, इसिमोड र प्रदेश सरकारको २ करोड रुपैयाँभन्दा बढी लगानी पार्क क्षेत्रमा भौतिक तथा सांस्कृतिक पूर्वाधार निर्माणमा खर्चिएको छ।

 


Thali Mobile Pvt.Ltd.