भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

डाक्टर अभावले जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा ठप्प, बिरामी मर्कामा

डाक्टर अभावले जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं , ४ वैशाख । जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया सेवा पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीहरू गम्भीर समस्यामा परेका छन् ।

अस्पतालले विगतमा जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाहरूलाई सल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको थियो । तर एमडीजीपी चिकित्सकको अभाव भएपछि चैत्र २८ गतेदेखि उक्त सेवा ठप्प भएको हो ।

सेवा बन्द भएसँगै सल्यक्रियाका लागि आएका बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन् । यसअघि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका स्थानीयहरू अहिले बाहिर जानुपर्दा आर्थिक भार थपिएको छ भने जटिल अवस्थाका गर्भवती महिलाहरूका लागि जोखिमसमेत बढेको छ ।

सिद्ध कुमाख गाउँपालिका–५ की यमुना खड्काले सल्यक्रिया सेवा बन्द भएको खबरले आफूहरू चिन्तित बनेको बताइन् । ‘बहिनीको डेलिभरीका लागि आएका हौं, अहिलेसम्म अवस्था सामान्य छ । तर बीचमा समस्या आए अप्रेसन गर्ने डाक्टर नहुँदा निकै डर लागेको छ’, उनले भनिन् ।

यस्तै, शारदा नगरपालिका–२ की अस्मिता बस्नेतले पनि अप्रेसन सेवा बन्द हुँदा सास्ती खेप्नुपरेको बताइन् । ‘डाक्टर अभावका कारण अप्रेसन सेवा बन्द रहेछ, हामीलाई निकै समस्या भयो । अप्रेसनकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता आयो’, उनले गुनासो गरिन् ।

जिल्ला अस्पताल सल्यानमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गर्छन्, जसमा केहीलाई सल्यक्रिया आवश्यक पर्ने गर्दछ । हाल भने सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा रहेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुनकुमार बुढामगरका अनुसार जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीहरूलाई जिल्ला बाहिर रेफर गर्ने गरिएको छ । एमडीजीपी चिकित्सक अभावबारे संघ तथा प्रदेश सरकारलाई जानकारी गराइए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भई उपचाररत रहेको र तालिमप्राप्त मेडिकल अफिसर उच्च अध्ययनका लागि बाहिर गएपछि सेवा सञ्चालनमा थप समस्या देखिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.