एजेन्सी । लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागू भएको छ, जसले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा गरिए पनि यसको स्थायित्वबारे आशंका कायमै रहेको छ ।
बिहीबार मध्यरातदेखि लागू भएको युद्धविरामसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व पनि चाँडै अन्त्य हुने संकेत गरेका छन् । उनका अनुसार अमेरिका र इरानबीच आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्ता निर्णायक चरणमा पुगेको छ ।
ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता नजिक पुगेको बताएका हुन् । उनले इरानले २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नबनाउने सहमति जनाउने संकेत देखिएको दाबी गरे ।
गत साता पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा बनेको थियो । अमेरिकाले इरानलाई अत्यधिक संवर्धित युरेनियम हटाउन दबाब दिइरहेको छ भने इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ ।
यसबीच लेबनान–इजरायल युद्धविराम लागू भएसँगै बेरुतका विभिन्न स्थानमा सर्वसाधारणले खुसीयाली मनाएका छन् । तर युद्धविराम लागू भएको केही घण्टामै उल्लङ्घनका आरोप–प्रत्यारोप सुरु भएका छन् । लेबनानी सेनाले इजरायलमाथि दक्षिणी क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ भने इजरायलले हिजबुल्लाहका गतिविधिको प्रतिकारस्वरूप कारबाही गरेको जनाएको छ ।
हिजबुल्लाहले पनि युद्धविराम लागू हुनुअघि अन्तिम समयसम्म इजरायलविरुद्ध आक्रमण जारी राखेको दाबी गरेको छ ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ भने यसको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । विशेषगरी स्ट्रेट अफ होर्मुज प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।
ट्रम्पले इरानसँग सम्झौता भए तेलको मूल्य र मुद्रास्फीति घट्ने दाबी गरेका छन् । उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ आउनसँग वार्ता सकारात्मक भएको उल्लेख गर्दै छिट्टै उच्चस्तरीय भेटघाटको तयारी भइरहेको जानकारी दिए ।
यद्यपि वार्तामा पूर्ण सहमति जुट्न नसकेमा द्वन्द्व पुनः चर्किने जोखिम कायमै रहेको विश्लेषकहरूले औँल्याएका छन् ।

