चितवन । रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । स्कुलका प्रिन्सिपल ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो ।
छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न स्थानीयले दबाब दिएका थिए । शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएको छ ।
बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको छ । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिन खोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको थियो ।
शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ । शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएका पीडित परिवारले छोरीलाई चितवनको विद्यालयमा छात्रावासमा राखेर पढाउँदै आएको थियो ।

