भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पूर्वी नाकाबाट पाँच अर्बबढीको भेनियर र प्लाई निर्यात

पूर्वी नाकाबाट पाँच अर्बबढीको भेनियर र प्लाई निर्यात

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ कु–काठबाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ ।

विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ ।  नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।

पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट रु ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र रु पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट रु १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रु नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।

नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए ।

हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् ।

काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ छ ।

नेपाल भेनियर उत्पादक सङ्घका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पुर्याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.