भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पाल्पामा डढेलोले सखाप हुँदै जंगल

पाल्पामा डढेलोले सखाप हुँदै जंगल

पाल्पा। लामो समयसम्म पाहुँनी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जंगलमा डढेलो लाग्न थालेको छ। हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ।यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन्। जंगलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ। डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ। अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए।वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे।यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन्।

हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन्।विशेषगरी जंगल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन्। जंगलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन्।वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ। डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ।

यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गरे।केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्साने नजिकैको जंगल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जंगल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जंगलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जंगल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए। उनका अनुसार यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जंगल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन्।हालसम्म जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताए।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुन: सल्किने समस्या रहेको उनले बताए। जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको उनले जानकारी दिए।अधिकांश डढेलो लागेको जंगल नजिकै बस्ती छन्। ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैँनन्। हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताए।

अघिल्लो वर्ष नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोले रातमा निन्द्रा लाग्दैनु, उनले भने।अहिले पनि यहाँ आगो लागेको छ भन्दै कार्कीले भने, पहिले छिमेकीको घर जलेको थियो, कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ। के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ।घरमा एक्लै बस्दै आउनुभएकी कार्कीले बढ्दै गएको डढेलोका कारण चिन्ता बढेको बताए। दिनहुँ जस्तो भगवान्लाई सम्झिँदै बस्नु परेको उनको भनाइ छ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ। सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू-बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ।दमकलले बस्ती नजिकेको आगो निभाए पनि जंगलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिए।

उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जंगल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन्।डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए। गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको छु, उनले भने। रासस

 


Thali Mobile Pvt.Ltd.