भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल

फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल

मङ्गलबारे । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए ।

‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ ।

विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।’उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए । ‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो ।

उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ’, दहालले भने । धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् ।

उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन् । ‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो आठ रुपैयाँ र तीतेपाती प्रतिकिलो चार रुपैयाँले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्’ दहालले भने ।

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.