काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।
सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ केयर होम को संयुक्त आयोजनामा, समाज डेन्टल हस्पिटल नयाँ बानेश्वर तथा बसुन्धरा डेन्टल समाजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर एन्जल हेल्थ केयर होमको प्रांगणमा सम्पन्न भएको हो।
शिविरमा कुल १४४ जनाले दन्त परीक्षण, सफा, एक्सरे लगायतका सेवा प्राप्त गरे। साथै सहभागीहरूलाई निःशुल्क औषधि, दन्तमञ्जन, ब्रस समेत वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।
शिविरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठ्ठाराम अधिकारी, वडा नं. ६ का अध्यक्ष रवि खडका, वडा सदस्य मुना महर्जन, भद्रकाली स्वास्थ्य चौकी प्रमुख लिलाधर भुषाल, स्वास्थ्यकर्मी, समाजका पदाधिकारी, सल्लाहकार तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपालका अध्यक्ष बिनोद कुमार खडकाले शिविर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।