भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गणतन्त्र राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

गणतन्त्र राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको भन्दै यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई समुन्नत भविष्य निर्माणका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गर्नुभयो ।

उहाँले जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्वको अधिकारले देशवासीलाई एक साझा राष्ट्र निर्माणतर्फ अभिप्रेरित गरेको बताउनुभयो । राष्ट्रपति पौडेलले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको धारणा व्यक्त गर्नुभयो । उहाँले यसको मूल्यमान्यता र नैतिक सीमालाई आत्मसात् नगरी इतिहासको अभिभारा पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी अभ्यासमा जोड दिँदै राजनीति, राज्य र शासन प्रणालीलाई नैतिकता, निष्ठा र मूल्यमान्यताभित्र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न विषम परिस्थितिपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बनेको सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको बताउनुभयो । साथै, सरकारले अघि सारेका शासकीय सुधारका कार्यसूचीले जनतामा आशा जगाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक व्यवस्था परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, नेतृत्व र राजनीतिक संस्कारमा समेत परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । “व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र वेथितिलाई देशका सबैभन्दा ठूलो शत्रुका रूपमा चित्रण गर्दै लोकतान्त्रिक गणतन्त्रप्रतिको जनअपेक्षा निराशामा परिणत हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रत्येक नागरिकको जीवनमा आशा र अवसरको उज्यालो नपुगेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा नहुने उल्लेख गर्नुभयो । साथै कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको उच्चतम् विकासमार्फत समृद्धि हासिल गर्न स्रोत–साधनको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले राजनीतिक दल, सरकार र नेतृत्व सृजनशील, विनम्र, जनउत्तरदायी तथा चरित्रवान हुनुपर्नेमा जोड दिँदै शासकीय संरचनालाई परिणाममुखी बनाउन आग्रह गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.