अघिल्लो वर्षको तुलनामा यस वर्ष साउन र भदौमा ग्यासको बिक्री बढेको छ ।
दुई महिनामा १२ लाखभन्दा बढी सिलिन्डर थप बजारमा पठाइएको तथ्याङ्क ।
साउनमा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बिक्री भएको छ ।
भदौ २७ गतेसम्म ३७ लाखभन्दा बढी सिलिन्डर बजारमा पठाइएको निगमको तथ्याङ्क ।
पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात ।
दैनिक औसत ४० हजार सिलिन्डर काठमाडौं उपत्यकामा वितरण भइरहेको दाबी ।
पर्याप्त आयात र बिक्री हुँदाहुँदै उपभोक्ता भने ग्यासका लागि लाइनमा बस्न बाध्य ।
काठमाडौं, २९ भदौ । अघिल्लो वर्षको तुलनामा यस वर्ष खाना पकाउने ग्यासको आयात र बिक्री बढेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन् । ग्यास लिनका लागि उपभोक्ता अझै पनि डिपो तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको छ ।
नेपाल आयल निगमका अनुसार गएको वर्षको साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा १२ लाखभन्दा बढी सिलिन्डर ग्यास थप बजारमा पठाइएको छ । गत वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएको थियो । यस वर्ष साउनमा भने ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।
त्यसैगरी, गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर ग्यास बिक्री भएकोमा यस वर्ष भदौ २७ गतेसम्म नै ३७ लाख १३ हजार ८९४ सिलिन्डर बजारमा पठाइएको छ । ग्यासको आयात र बजारमा पठाउने परिमाण बढेको तथ्याङ्क देखिए पनि उपभोक्ताले भने अभावको सामना गरिरहेका छन् । कतिपय बिक्री केन्द्रमा ग्यास लिनका लागि लामो समय लाइनमा बस्नुपर्ने तथा टोकन लिएर पालो कुर्नुपर्ने अवस्था कायमै रहेको उपभोक्ताको गुनासो छ ।
निगमका अनुसार पछिल्लो २८ दिनमा मात्रै ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । पछिल्लो १० दिनको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास बिक्री तथा वितरण भइरहेको छ । आयात र वितरणको परिमाण बढेको देखिए पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनुको कारणबारे भने प्रश्न उठेको छ ।
बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरिए पनि बिक्री केन्द्रमा देखिएको भीड र उपभोक्ताको लाइनले आपूर्ति व्यवस्थापन अझै सहज हुन नसकेको संकेत गरेको छ ।
