रसुवा, ७ जेठ । हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्था र मोक्ष प्राप्तिको प्रमुख केन्द्र मानिने यस क्षेत्रमा भगवान् शिवको दर्शन तथा स्नानका लागि देश–विदेशबाट भक्तजन आउन थालेका छन्।
जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन्। यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ।
पुराणमा उल्लेख भएअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकूट विषले सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठमा धारण गरेका थिए। त्यसपछि शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आएका शिवले त्रिशूल प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको धार्मिक विश्वास छ।
धार्मिक मान्यताअनुसार गङ्गादशहरामा यहाँ स्नान गर्दा दस प्रकारका पाप नाश हुने विश्वास छ भने जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने मानिन्छ। समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको यो तीर्थस्थल पुग्न कठिन भए पनि स्नानपछि शारीरिक थकान मेटिने तीर्थयात्रीहरूको अनुभव छ।
यात्रा मार्ग र व्यवस्थापन
काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती र कालिकास्थान हुँदै धुञ्चे पुग्छ। धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक र गणेशगौंडा हुँदै कठिन भिर पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ।
यात्रुको चापलाई ध्यानमा राख्दै होटल व्यवसायीहरूले खाद्यान्न ढुवानी तथा बसोबासको व्यवस्था मिलाएका छन्। जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समिति का अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए। यात्राका क्रममा आइपर्ने समस्या समाधान र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन्।
लौरीविनायकभन्दा माथि लेक लाग्ने (Altitude Sickness) सम्भावना हुने भएकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन्। धुञ्चेमा एक रात बसेर वातावरणसँग अभ्यस्त हुन तथा यात्रा गर्दा अदुवा, कागती, लसुन र बिरेनुन साथमा राख्न सुझाव दिइएको छ। पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा पनि उपलब्ध छ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने यस यात्रामा वन्यजन्तु नतर्साउने, वनस्पति नकाट्ने र फोहोर तोकिएको स्थानमा मात्र फाल्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज का वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले आग्रह गरेका छन्। उनले भने, “हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा हो।”
