काठमाडौं, २४ असार । वर्षायाममा बारम्बार बत्ती जाने (ट्रिपिङ) समस्या बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
मन्त्रालयका अनुसार वर्षाका कारण बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या न्यूनिकरणलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको हो।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उपभोक्ताबाट गुनासो प्राप्त हुनासाथ तत्काल समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा उपकरण २४सै घण्टा तयारी अवस्थामा राखेको छ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या, गुनासो वा उजुरी परेमा उपभोक्ताले नेपाल विद्युत् प्राधिकरणको निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वर्षायाममा हावाहुरी, चट्याङ, रुख ढल्ने तथा अन्य प्राकृतिक कारणले विद्युत् लाइनमा समस्या आउन सक्ने भएकाले उपभोक्तालाई धैर्य गर्न र समस्या देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरेको छ।
