ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा छोट्याउने तयारी।
नयाँ रेडियो कलर जडान गरी निरन्तर निगरानी गरिने।
ध्रुवेका आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु।
गत शनिबार आमाछोरासहित दुई जनाको ज्यान गएको थियो।
स्थानीयलाई समयमै सूचना दिन नयाँ ट्र्याकिङ प्रणाली प्रयोग गरिने।
चितवन,२४ असार । चितवन राष्ट्रिय निकुञ्जमा २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ नामको जङ्गली भाले हात्तीलाई नियन्त्रणमा लिएर उसका दाह्रा काटी छोटो बनाउने तयारी गरिएको छ।
निकुञ्ज प्रशासनले हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने योजना अघि बढाएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यसअघि लगाइएको रेडियो कलरले प्रभावकारी रूपमा सूचना दिन नसकेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो।
“हामी तयारी अवस्थामा छौँ। ध्रुवे भेटिएपछि डार्ट गरेर बेहोस बनाइनेछ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाइनेछ,” उनले भने। नयाँ रेडियो कलर जडान भएपछि हात्ती बस्ती नजिक पुगेको सूचना समयमै प्राप्त हुने र स्थानीयलाई सतर्क गराउन सहज हुने निकुञ्जको अपेक्षा छ।
ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। घटनापछि हात्ती सुखीभार क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ। सोही क्रममा ध्रुवेलाई धपाउन खोज्दा आगलागी भएर पीडित परिवारको घरसमेत जलेर नष्ट भएको थियो।
निकुञ्जका अनुसार ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिएको छ। २०७४ सालमा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरी मारेपछि लामो समय शान्त रहेको ध्रुवेले करिब नौ वर्षपछि पुनः आमाछोराको ज्यान लिएको हो।
ध्रुवे २०६८/६९ सालताका लगातार मानवीय क्षति गराउने हात्तीका रूपमा परिचित थियो। २०६९ सालमा माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले यसलाई मार्ने निर्णयसमेत गरेको थियो। २०६६ माघदेखि सुरु भएको मानव–हात्ती द्वन्द्वमा २०६९ सालसम्म आइपुग्दा ध्रुवेले १५ जनाको ज्यान लिइसकेको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवेसहित रोनाल्डो, गोविन्देलगायत नाम दिइएका जङ्गली भाले हात्ती छन्। निकुञ्जभित्र हाल ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको छ। निकुञ्ज प्रशासन, विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकाय मिलेर ध्रुवेको आक्रमणका कारण क्षति भएको घर पुनर्निर्माण गर्ने तयारीसमेत भइरहेको जनाएको छ।
