गुल्मी, १५ माघ । गुल्मी जिल्लाको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाको शिशुको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार मादक पदार्थ सेवन गरेका सन्तबहादुरले आफ्नै तीन महिनाको शिशुलाई टिपेर भुइँमा पछारेपछि घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे सन्तबहादुरकी जेठी छोरी सरिताले हस्तीचौर प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपी सन्तबहादुरलाई नियन्त्रणमा लिएको हो ।
डीएसपी सारुका अनुसार घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।