भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आय आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण

आय आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण

कास्की । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् ।

पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान ९पार्क० निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

उनका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्म्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रस्ट भवन र शौचालय निर्माण गरिएको हो । “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उनले भने, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दै राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।”

सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताए । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१र८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ ।

पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ । विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिए ।

यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले बताए । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउँछन् ।

मनकामना पार्कमा वृक्षारोपण

नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छविसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.