भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राख्ने इरानको घोषणा

स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राख्ने इरानको घोषणा

एजेन्सी । इरानले विश्वका प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा अवरोध कायम राख्ने घोषणा गरेको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले उक्त जलमार्गलाई रणनीतिक दबाबको साधनका रूपमा प्रयोग गरिने बताएका हुन् ।

इरानको सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा खामेनीको भनाइ सार्वजनिक गरिएको हो । उनले प्रत्यक्ष रूपमा सन्देश नदिए पनि समाचार वाचकमार्फत उनको वक्तव्य पढेर सुनाइएको थियो । फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो । पदभार सम्हालेपछि उनी सार्वजनिक रूपमा भने अझै देखिएका छैनन् ।

पहिलो सन्देशमार्फत खामेनीले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानी नागरिकहरूको ‘रगतको बदला लिने’ चेतावनी दिएका छन् । उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी रहने पनि बताएका छन् ।

उनले छिमेकी देशहरूलाई आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन् । इरानले १५ वटा छिमेकी देशसँग स्थल तथा समुद्री सीमा जोडिएको उल्लेख गर्दै ती देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहेको पनि सन्देशमा उल्लेख गरिएको छ ।

खामेनीले स्ट्रेट अफ होर्मुजलाई ‘शत्रु कमजोर हुने स्थान’ भन्दै रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही मार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा हुने अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

यसअघि पनि इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्यांकरहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो । सो मार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ । तेहरानले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी समेत दिएको छ । साथै अमेरिका, इजरायल तथा उनीहरूका साझेदार देशतर्फ जाने तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने सम्भावनाबारे पनि संकेत गरेको छ ।

यता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भने विश्व तेल बजार अहिले इतिहासकै ठूलो आपूर्ति संकटतर्फ अघि बढिरहेको जनाएको छ । सम्भावित संकट कम गर्न एजेन्सीले करिब ४० करोड ब्यारेल तेल विश्व बजारमा पठाउने तयारी गरेको जनाएको छ ।