एजेन्सी, २ फागुन ।इजरायलले इरानमा अझै हजारौँ लक्ष्यहरूमाथि आक्रमण गर्न बाँकी रहेको दाबी गरेको छ । पश्चिमी तथा मध्य इरानका विभिन्न क्षेत्रमा आक्रमण विस्तार भइरहेका बेला इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले यस्तो बताएका बीबीसीले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले इरानका रणनीतिक पूर्वाधारलाई कमजोर पार्ने उद्देश्यले आक्रमण जारी राखिएको जनाएको छ । आईडीएफका अनुसार इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) तथा बासिज फोर्ससँग सम्बन्धित विभिन्न मुख्यालयहरूमा पनि प्रहार गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ सम्बन्धी अवस्थाबारे छलफल भएको छ । दुई नेताबीच फोनवार्तामार्फत मध्यपूर्वको तनावपूर्ण परिस्थिति तथा विश्वव्यापी ढुवानीमा देखिएको अवरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको खबरमा उल्लेख छ ।
ट्रम्पले यदि युरोपेली देशहरूले हर्मुज समुद्री मार्ग खुलाउन सहयोग नगरे उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को भविष्यमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन् । बेलायती दैनिक ‘फाइनान्सियल टाइम्स’लाई दिएको अन्तर्वार्तामा उनले चीनका राष्ट्रपति सी जिनपिङसँगको आगामी भेटअघि चीनले पनि उक्त मार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।
मार्चको अन्त्यतिर बेइजिङमा ट्रम्प र सीबीच भेटवार्ता हुने तय भएको बताइएको छ । ट्रम्पले हर्मुजबाट लाभ उठाइरहेका देशहरूले मार्ग पुनः सञ्चालनका लागि पहल गर्नु उपयुक्त हुने पनि बताएका छन् ।