बारा, ४ मंसिर । बुधबार सिमरामा भएको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेका कार्यकर्ता र युवाबीचको झडपका कारण सिमरा र वरिपरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार स्थगित गरिएको छ ।
शान्ति सुरक्षा र विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि विद्यालय प्रशासनले आकस्मिक रूपमा विद्यार्थीहरूलाई घर पठाउने निर्णय लिन बाध्य भएको थियो । सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले बताएअनुसार, आन्दोलनको क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसले विद्यालय क्षेत्रका विद्यार्थीहरूमा डर र त्रास सिर्जना गरेको थियो । केही विद्यार्थीहरू बेहोस हुने अवस्था पनि आएको प्रिन्सिपलले उल्लेख गरे ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले भने – “विद्यार्थीहरू सुरक्षित ढंगले विद्यालय आउन सक्ने वातावरण नहुँदासम्म विद्यालय क्षेत्र बन्द रहनेछ ।” उक्त घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएअनुसार, जेनजीको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्ने प्रयास गर्ने दुई एमाले वडाध्यक्ष ‘धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारी’ प्रहरीले नियन्त्रणमा लिइएको छ ।
स्थानीय प्रशासनले विद्यार्थीहरूको सुरक्षा र शान्ति कायम गर्न विद्यालय बन्द गर्ने निर्णय गर्नुपरेको र हालको परिस्थिति सामान्य नहुँदासम्म यस्तो निर्णय लागू रहनेछ ।