भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जातपात मान्ने कानुनदेखि समावेशी संविधानसम्म : एक कानुनी यात्रा

जातपात मान्ने कानुनदेखि समावेशी संविधानसम्म : एक कानुनी यात्रा

काठमाडौं, २१ जेठ । नेपालमा  जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइँन्छ । २०६३ सालमा यति नै दिन सरकारले नेपाललाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो। यो घोषणासँगै राज्यले औपचारिक रूपमा जातीय भेदभाव अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो। तर नेपालमा जातपातको इतिहास गहिरो छ।

लिच्छविकालदेखि नै हिन्दू धर्मशास्त्रमा आधारित वर्ण व्यवस्थाले कानुनी स्वरूप लिएको पाइन्छ। त्यसको प्रभाव जयस्थिति मल्लको ‘स्थिति’ र जंगबहादुरको १९१० को मुलुकी ऐनमा देखिन्छ, जसले स्पष्ट रूपमा जातीय विभाजन र भेदभावलाई कानुनी जामा लगाएको थियो।

२००४ सालको पहिलो संविधानदेखि लिएर आजसम्म नेपालले सातवटा संविधान बनाइसकेको छ। यिनमध्ये अधिकांशमा जातीय छुवाछुतको विषय मौन वा अपूरो रूपमा सम्बोधित भएको पाइन्छ। २०४७ सालको संविधानमा निजी क्षेत्रलाई छुवाछुत निषेध गर्ने स्पष्ट प्रावधान थिएन। तर २०६३ सालको अन्तरिम संविधान र त्यसपछि आएको २०७२ को संविधान भने जातीय भेदभाव विरुद्धको हकलाई पूर्ण रूपमा मौलिक हकको रूपमा समेट्ने दस्तावेज बनेको छ। संविधानको धारा २४ अनुसार, अब सार्वजनिक वा निजी स्थलमा छुवाछुत र भेदभाव पूर्ण रूपमा निषेध गरिएको छ।

यससँगै आएको ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८’ ले पनि कानुनी रूपमा यस्तो व्यवहारलाई अपराध घोषणा गरेको छ। तर समाजमा अझै पनि व्यवहारिक स्तरमा जातपातको समस्या कायमै रहेको अधिकारकर्मीहरूको भनाइ छ। विशेषज्ञहरू भन्छन्, कानुनी सुधारहरू भए पनि व्यवहारिक परिवर्तनका लागि शिक्षा, चेतना र अधिकारमा पहुँच अझै आवश्यक छ।

यसरी, नेपाली समाजमा लामो समयसम्म कानुनकै संरक्षणमा जातपात कायम रह्यो। तर आजको संविधान समावेशी, धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित बनेर जातीय विभेदको अन्त्यतर्फको ऐतिहासिक मोडमा उभिएको छ।

 


Thali Mobile Pvt.Ltd.