जुम्ला अर्गानिक जिल्ला, विषादीरहित स्याउ उत्पादनमा चर्चित
रेड डेलिसियस, गोल्डेन डेलिसियस लगायतका जात प्रचलनमा
सिँचाइ र प्रविधि अभाव, रोग नियन्त्रणमा चुनौती
कृषकले राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो
अन्तर्राष्ट्रिय बजारसम्म चिनाउने सम्भावना भए पनि बजार व्यवस्थापन कमजोर
जुम्ला, २१ भाद्र । जुम्ला जिल्लामा उत्पादन हुने अर्गानिक स्याउ केवल एक स्वादिलो फल मात्र नभई जिल्लाको आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको महमहत्वपूर्ण कृषि उत्पादन हो ।

नेपाल सरकारद्वारा अर्गानिक जिल्ला घोषणा गरिएको जुम्लामा उत्पादित स्याउ विषादीविहीन, स्वास्थ्यवर्द्धक र पौष्टिक गुणले भरिपूर्ण मानिन्छ । नेपालमा व्यावसायिक स्याउ खेतीको सुरुवात बि.सं. २०१९ सालमा काठमाडौँको कीर्तिपुर, रसुवा र दामनबाट भएको मानिन्छ भने जुम्लामा भने २०२१ सालतिर तत्कालीन सरकारले पिपलगाउँमा बागबानी स्थापना गरी स्याउ र अन्य फलफूल खेतीको आरम्भ गरेको पाइन्छ ।
हाल जुम्लाका विभिन्न भेगमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रिच रेड, रेड चिफ, जनाथ जस्ता जातका स्याउ व्यावसायिक रुपमा फलाइने गरेका छन् । जुम्लाको समुद्री सतहदेखि २,००० देखि ३,००० मिटरको उचाइ र राताे तथा कालाे माटो स्याउ उत्पादनका लागि उपयुक्त मानिन्छ ।
जिल्लामा आरु, खुर्पानी, ओखर, किबी लगायतका अन्य शीतोष्ण फलफूल पनि उत्पादन हुने गरेका छन् । तर, यहाँको भूगोल उकालो–ओरालो र पहाडी जमिन भएकाले सिँचाइ व्यवस्थापनमा कठिनाइ छ ।

स्थानीय कृषक शान्ति नाथ योगीका अनुसार, “मेरो करिब १२ हजार वर्गमिटर जमिनमा ६०० बोट स्याउ छ, तर फल्ने बोट मात्र १० प्रतिशत छ । यसको मुख्य कारण सिँचाइ र आधुनिक प्रविधिको अभाव हो ।”
स्याउमा apple scab र powdery mildew जस्ता रोग लाग्ने गरेका छन् । तर, जुम्ला अर्गानिक जिल्ला भएकाले विषादी प्रयोग गर्न नपाइने भएकाले रोग नियन्त्रण चुनौती बनेको छ । त्यस्तै, राज्यको सहयोग नपाएको किसानहरूको गुनासो छ । कृषकहरूका अनुसार, अनुदान वितरणमा राजनीति, पक्षपात र बिचौलियाको प्रभाव रहेको छ ।
जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ नेपालभर लोकप्रिय छ । यसबाट जाम, जेली, जुस, साइडर, वाइन र अन्य परिकार उत्पादन गर्न सकिन्छ । तर, बजार व्यवस्थापन र मूल्य अभावले किसानले उचित लाभ लिन सकेका छैनन् ।

शान्ति नाथ योगी थप्छन् :“हामी कृषकले सरकारलाई सयौं पटक सहयोगको लागि हारगुहार गरेका छौं । तर, पाउने भने झूटो आश्वासन मात्रै हो । यदि राज्यले सही ढंगले सहयोग गरेमा जुम्लाको स्याउ विश्व बजारमै ब्रान्ड बनाउन सकिन्छ, नत्र केवल निर्बाहमुखी खेतीमै सीमित हुन्छ ।”
जुम्लाको अर्गानिक स्याउ उत्पादनमा विशाल सम्भावना छ । तर, प्रविधि, सिँचाइ, रोग नियन्त्रण र बजार व्यवस्थापनमा राज्य र सरोकारवालाको प्रभावकारी हस्तक्षेप नभएसम्म किसानले अपेक्षित लाभ लिन नसक्ने देखिन्छ । यसैले, कृषकहरूको मेहनत र सम्भावनालाई व्यावसायिक सफलतामा बदल्न सबै तहका सरकार र संघसंस्थाको सहयोग अपरिहार्य देखिन्छ ।

