बाढी–पहिरोका कारण देशभरका दर्जनौँ राजमार्ग तथा सहायक सडक प्रभावित ।
नारायणगढ–मुग्लिन, पृथ्वी, बीपी र अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात बन्द ।
जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन सवारी सञ्चालनमा रोक ।
रसुवा–नुवाकोट जोड्ने सडक बन्द भएपछि वैकल्पिक मार्ग प्रयोगमा ।
सडक विभाग र सुरक्षा निकायद्वारा अवरुद्ध सडक खुलाउने काम जारी ।
काठमाडौँ, १२ असाेज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सहायक सडकका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ । कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही क्षेत्रमा आंशिक रूपमा सवारी सञ्चालन भइरहेको छ ।
बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमयुक्त सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ । रसुवाको उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नदी कटान र बाढीका कारण अवरुद्ध भएको छ ।
रसुवा–नुवाकोट जोड्ने सडक बन्द भएपछि काठमाडौँबाट टोखा, छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।
कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुरमा मध्यपहाडी तथा सिद्धिचरण लोकमार्गका जोखिमयुक्त क्षेत्रमा साँझदेखि बिहानसम्म सवारी आवागमनमा रोक लगाइएको छ । रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत माडीचौर क्षेत्रमा पनि जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
गण्डकी प्रदेशका मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वतमा समेत जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ । बेँसीसहर–खाङसार सडक, पोखरा–बागलुङ सडकको पर्वत खण्ड तथा विभिन्न ग्रामीण सडक प्रभावित भएका छन् ।
बागमती प्रदेशमा चितवन र धादिङतर्फ निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । धादिङको कृष्णभीर र पानीधारामा ठूला ढुंगासहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । मकवानपुरमा कान्ति लोकपथ र पृथ्वी राजमार्ग प्रभावित भएपछि त्रिभुवन राजपथमार्फत सवारी सञ्चालनका लागि निश्चित समय तालिका तोकिएको छ ।
त्रिभुवन राजपथमा इन्धन तथा एलपी ग्यासबाहेक १० चक्काभन्दा लामो र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई प्रवेशमा रोक लगाइएको छ ।सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा पनि बाढी–पहिरोको जोखिमका कारण बीपी र अरनिको राजमार्गमा रात्रिकालीन आवागमन रोकिएको छ । काभ्रेको चारसयबेँसी, गिम्दीबेँसी र धुलिखेलको पकुचामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
यसैगरी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मनाङको चामे–बेँसीसहर सडक, गुल्मीका विभिन्न सडक, कालीगण्डकी करिडोर, बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्गलगायत सडक पनि पहिरो र लेदोका कारण प्रभावित भएका छन् ।
म्याग्दीको बेँसी–जोमसोम, मकवानपुरको भीमफेदी–फाखेल, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, दार्चुलाको महाकाली राजमार्ग, पाल्पा र स्याङ्जाको सिद्धार्थ राजमार्ग, ललितपुरको कान्ति लोकपथ, लमजुङको बेँसीसहर–मनाङ सडक तथा तनहुँको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत पहिरो र लेदोका कारण यातायात प्रभावित भएको छ ।
दाङको तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलाको पुरानो पुलमुनि माटो खसेपछि पुलबाट आवागमन बन्द गरिएको छ । डोटीमा लगातारको वर्षाका कारण जिल्ला प्रशासन कार्यालयले २४ घण्टाका लागि सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाएको छ ।
अवरुद्ध सडक खुलाउन सडक विभाग तथा सुरक्षा निकाय परिचालन भएका छन् । पहिरो हटाउने, सडकको अवस्था निरीक्षण गर्ने तथा प्रभावित यात्रुलाई सुरक्षित गन्तव्यतर्फ पठाउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
