मुख्य बुँदा
भोटेकोशी बाढीका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर
विभिन्न जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्यायो
त्रिशूली करिडोरबाट बालाजु र चपली आउने विद्युत् अवरुद्ध
वैकल्पिक विद्युत् आपूर्तिका लागि कार्यदल बनाएर काम हुँदै
हिउँदको माग व्यवस्थापन गर्न थप भूमिगत ग्रिड निर्माण अघि बढाइँदै
काठमाडौं, १४ असाेज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ । विद्युत् आपूर्तिमा परेको असर व्यवस्थापन गर्न सरकारले वैकल्पिक व्यवस्था अघि बढाएको छ ।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा रहेका प्रसारण लाइनमा थप चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक आपूर्ति प्रणाली विकासका लागि गृहकार्य भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले समस्या समाधान तथा विद्युत् आपूर्ति व्यवस्थापनका लागि कार्यदल बनाएर काम गरिरहेको छ ।
यसैबीच, आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन गर्न प्राधिकरणले थप भूमिगत प्रसारण संरचना निर्माणको काम अघि बढाएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदको विद्युत् माग सहज रूपमा व्यवस्थापन गर्न सम्बन्धित सबै निकायबीच उच्चस्तरीय समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
हिउँदमा विद्युत् प्रणालीमा पर्न सक्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।
