कैलाली, १४ भदौ । कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध ब्युरो धनगढी शाखा, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो ।
पक्राउ परेकाहरू मध्य डोटीको शिखर नगरपालिका – ८ का ३५ वर्षीय वीरबहादुर रावललाई २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कैलालीको गोदावरी नगरपालिका-१ बस्दै आएका थिए र सोही बेला सु.प.प्र.०४००१ प ०६६५ नं. को मोटरसाइकलमा सवार थिए । यस्तै, कैलाली चुरे गाउँपालिका-३ का ३२ वर्षीय मोहन मल्ललाई ५९० मिलिग्राम हिरोइनसहित नियन्त्रणमा लिइएको हो । उनले हिरोइन मोबाइलको खोलभित्र लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बझाङ बुङ्गल नगरपालिका-८ घर भई धनगढी उप-महानगरपालिका-२ मा होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राम बोहराको होटलमा छापा मार्दा ५ किलो ६९० ग्राम चरेश फेला परेको प्रहरीले जनाएकाे छ । बोहरालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उप-महानगरपालिका-१२ का २३ वर्षीय विजय बिक र २२ वर्षीय प्रदीप रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बिकले चलाएको सु.प.प्र.०१०१३ प २३४५ नं. को मोटरसाइकल चेकजाँच गर्दा ७४० मिलिग्राम हिरोइन बरामद भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । बरामद गरिएको लागुऔषध र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयार प्रहरीले गरेकाे छ ।