सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । कँडेलले मुख्यमन्त्रीमा भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन। सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागबन्डामा कुरा नमिलेको जनाइएको छ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार हुने प्रदेशको कार्यालयले जनाएको छ। कँडेललाई नेकपा ९एमाले० का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक सङ्ख्या २१ हो। जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन्।
एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो।
१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो।
