भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

सुनकोसीस्थित बंशिलाघाटमा ५१.८१ मिटर लामो बेलिब्रिज जडान

सुनकोसीस्थित बंशिलाघाटमा ५१.८१ मिटर लामो बेलिब्रिज जडान

खोटाङ, २५ माघ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ (पौवासेरा) र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ (चौदण्डीगढी) को सिमानामा पर्ने बंशिलाघाटमा अस्थायी बेलिब्रिज राखिएको हो ।

पक्की पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा ५१.८१ मिटर लामो र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरिएको हो । सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि आवश्यक परेमा निकालेर राख्ने गरी जडान गरिएको उक्त बेलिब्रिज माघ २४ गतेदेखि सञ्चालनमा आएको छ ।

आगामी जेठ महिनासम्म सञ्चालन हुने यो बेलिब्रिज गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा जडान गरेको हो । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८७ लाख रुपैयाँमा खरिद गरिएको बेलिब्रिज बंशिलाघाटमा राखिएको हो ।

बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र भोजपुरका केही पालिकाका नागरिकलाई उदयपुरको बेलटार हुँदै इटहरी, विराटनगर र धरानलगायत सहरसम्म सहज आवतजावतको बाटो खुलेको छ । विशेषगरी खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाका नागरिकले बंशिलाघाट हुँदै नुनदेखि सुनसम्मका सामग्री भित्र्याउने गर्दै आएका छन् । साथै काठ, सुन्तला, अलैंची, अम्लिसो, तेजपातलगायतका स्थानीय उपज यही नाका प्रयोग गरी बाहिर पठाउँदै आएका छन् ।

बंशिलाघाटको दुवै किनारामा कच्ची सडक निर्माण भइसकेको र मालबाहक सवारी साधनको ओहोरदोहोर भइरहे पनि पुल नहुँदा नागरिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य थिए । यसअघि बंशिलाघाटमा झोलुङ्गे पुलबाट मात्रै आवतजावत हुँदै आएको थियो । स्थानीय बासिन्दाको दैनिक बाक्लो ओहोरदोहोर हुने सो झोलुङ्गे पुल जोखिमपूर्ण बन्दै आएको थियो ।

खोटाङ र उदयपुर जोड्ने यो दोस्रो बेलिब्रिज हो । यसअघि खोटेहाङ गाउँपालिका–९ (लिच्कीराम्चे) र उदयपुरको रौतामाई गाउँपालिका–५ (आँपटार) जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको छ । २०८१ असोज १२ गते आएको बाढीले फोक्सिङटारको पक्की पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको थियो ।

बंशिलाघाटमा पक्की पुल निर्माणका लागि एमएस कालिका–बेदांसी जेभी, काठमाडौंले ३३ महिनाभित्र काम सक्ने गरी २०७७ पुस २८ गते ठेक्का सम्झौता गरेको थियो । भ्याट र पीएससहित १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँमा ठेक्का लागेको उक्त पुलको २०७९ पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिलान्यास गरेका थिए । तर सम्झौताअनुसार काम अघि नबढ्दा आयोजना हाल अलपत्र अवस्थामा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.