काठमाडौं, १४ भदौ । त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । धादिङको कृष्णभिर क्षेत्रमा बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक केही भासिएको हो ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतमका) अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तलतर्फबाट कटान गरेपछि सडकमा क्षति पुगेको हो । उनका अनुसार सडक केही भासिएपछि यातायात सञ्चालन गर्न नसकिने अवस्था आएको छ ।
बाढीका कारण आज बिहान केही समय सडक अवरुद्ध भएको थियो । त्यसपछि सडक सञ्चालनमा आए पनि केही समयमै पुनः पूर्णरुपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौं र मुग्लिनतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन् । सडकमा थप क्षति हुन सक्ने भएकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
