काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहे पनि जनधनको क्षतिको विवरण भयावह देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४८९ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १८४ जनाको शव फेला परेको छ । त्यस्तै चितवनमा २५९, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पश्चिममा ८२, नुवाकोटमा ५२, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
सम्पर्कविहीन हुनेमा रसुवाका ५६२, नुवाकोटका ११५ र जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना रहेका छन् । त्यस्तै मकवानपुरका ६५, नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका १५ र अध्यागमनका ४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी ५८९ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन् । बाढीमा परी २४२ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टोली परिचालन गरी घाइतेको उपचार भइरहेको छ ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् । सुरक्षाकर्मीको टोलीले हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिसकेको छ ।
त्यस्तै २२७ जना विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ ।
