भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमाथि पाँचौँ झोलुङ्गे पुल निर्माण सुरु

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमाथि पाँचौँ झोलुङ्गे पुल निर्माण सुरु

पर्वत, २२ भाद्र । लामा र अग्ला झोलुङ्गे पुलहरूको लोकप्रियता पाएको पर्वत जिल्लामा अब फेरि अर्को लामो र अग्लो झोलुङ्गे पुल थपिने भएको छ। बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्टाउने कालीगण्डकी नदी वारपार गर्नका लागि कुश्मा बजारको टुप्पो र पुछार जोड्ने गरी पाँचौँ पुल निर्माण सुरु भएको हो।

यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन्। अब भने कुश्मा नगरपालिका–५ स्थित कुश्माको बन्जी जम्प तथा यान्त्रिक पुलभन्दा केही तल रहेको गुम्बाबाट बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढे जोडिने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको हो।

चार सय १५ मिटर लम्बाइको यो पुल निर्माणका लागि निर्माण कम्पनीले प्रारम्भिक अध्ययन सकेको छ। नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार आगामी २०८३ पुस मसान्तसम्ममा पुलको निर्माण सम्पन्न गर्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रा.लि.ले गत असारमै ठेक्का सम्झौता गरिसकेको छ। संघीय सरकारबाट विनियोजित ५ करोड २६ लाख ८० हजार रुपैयाँ लागतमा पुल बन्नेछ।

उनका अनुसार आधारभूत संरचना निर्माण तथा तयारी पूरा भइसकेको छ र अब छिट्टै काम सुरु हुनेछ। बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मा क्षेत्रलाई जोड्ने यो पुल स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा अघि बढाइएको हो। पुलले व्यापार–व्यवसाय विस्तार र स्थानीयको आयस्रोत बढाउन पनि टेवा पुग्ने विश्वास गरिएको छ।

‘यान्त्रिक पुल, कैयाको पुल र बन्जीको पुलले मात्रै नपुगेकोले यो पुल आवश्यक भएको हो,’ वडाध्यक्ष खत्रीले भने, ‘विशेषगरी बागलुङ नगरपालिका–१२, १३ र १४ का बासिन्दालाई यो पुल बढी उपयोगी हुनेछ। कुश्मा बजारसँग सीधा पहुँच हुने भएकाले यसको महत्त्व अझ बढेको छ।’

हालसम्म बलेवाबाट कुश्मा आउँदा यान्त्रिक पुल तर्दा एकतर्फी ८५ रुपैयाँ तिर्नुपर्छ भने कुश्माबाट बलेवा जानेहरूले ११२ रुपैयाँ तिर्नुपरेको छ। नयाँ पुल बनेपछि त्यस्तो शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ।

नारायणस्थानका वडा सदस्य राजु क्षेत्रीका अनुसार भीडभाड, पालो कुरेर बस्नुपर्ने समस्या र कैयाको पुल टाढा परेकाले भोग्नुपरेको असुविधाको अन्त्य यो पुलले गर्नेछ। पुल नजिकै ठूलो बस्ती बस्ने सम्भावना रहेकोले कालीगण्डकी कोरिडोरको तल्लो समथर भूमिमा स्थानीय विकास र आर्थिक क्रियाकलापमा यसले ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.