सत्तारुढ दल नेकपाको सचिवालय बैठक मन्त्री हेरफेरमा व्यस्त रहेका बेला सबैभन्दा चासोको विषय नयाँ अर्थमन्त्री बनेको छ । कोभिड १९ महामारीबीच युवराज खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी ओली आफैंले लिएका छन्। कोभिडले समस्यामा परेर सरकारी सहयोगको अपेक्षा गरिरहेका आम जनता र उद्योगी व्यवसायीले नयाँ अर्थमन्त्रीलाई विशेष चासोका रुपमा हेरेका हुन्।केही दिनभित्र मुलुकले अर्थमन्त्रीसँगै अरु पनि नयाँ मन्त्री पाउने संभावना छ।
कोभिडको समस्यामा संसारभरका सबै अर्थमन्त्रीले सर्वसाधारण र उद्योगी व्यवसायीलाई सहयोग गर्न विशेष राहतका प्याकेज ल्याएका थिए।
कतिपय मुलुकले नगद नै सहयोग गरेका थिए। तत्कालीन अर्थमन्त्री खतिवडाले भने उद्योगी व्यवसायीलाई कर्जाको साँवा र ब्याज तिर्ने समय थप्नेबाहेक उल्लेखनीय कार्यक्रम ल्याएनन्। कोभिड महामारीको अन्त्य कहिले हुन्छ कसैलाई थाहा नभएका कारण सबैमा निराशा छ। नेपालमा दिनप्रतिदिन संक्रमित संख्या बढिरहेको छ भने मृत्युदर पनि वृद्धि भइरहेको छ। यस्तोमा आगामी दिनमा अर्थतन्त्रको गति कता जान्छ भन्ने कुतुहल सबैमा छ। अर्थतन्त्रको गतिमा नै आफ्नो पेसा, व्यवसाय र दैनिकी निर्भर हुने, अर्थतन्त्रलाई सफल र असफल बनाउन अर्थमन्त्री जोडिने भएकाले सर्वसाधारणले चासोका साथ हेरेका हुन्।
कोभिडले मुलुकको समग्र अर्थतन्त्रमा समस्या आएका बेला अर्थ मन्त्रालयलाई दुई तरिकाले चलाउन खोजेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई छाया मन्त्री बनाएर अर्थ मन्त्रालय चलाउने योजनामा छन्। अर्कोतिर अनुभव र ज्ञान दुवै नभएका केही गैरअर्थशास्त्री नेताको रहर पनि अर्थमन्त्री बन्ने देखिएको छ। यही कारण सबैमा आगामी अर्थमन्त्रीलाई लिएर कुतुहलसँगै डर पनि छ। अहिलेको कोभिड कहरमा विगतमा जस्तै गैरअर्थशास्त्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनु मुलुकका निम्ति दुर्भाग्य हुनेछ। अहिले अर्थतन्त्र जानेबुझेको, अनुभव भएको र नेपाली अर्थतन्त्रको पाटापाटामा हस्तक्षेप गर्ने क्षमता भएको अर्थमन्त्री बनाउनुपर्छ।
प्रतिनिधिसभाको चुनाव हारेर भर्खरै राष्ट्रियसभा सदस्य बनेका नेता वामदेव गौतमसहित केही गैरअर्थशास्त्री नेता अर्थमन्त्री हुन चाहेका छन्। सामान्य अवस्थामा कर्मचारीको भरमा जोकोहीले पनि अर्थमन्त्रीको रहर पूरा गर्न सक्ला। विगतमा पनि वर्षमान पुन, कृष्णबहादुर महरा, विष्णु पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले इच्छा पूरा गरेका थिए। विश्वका अन्य मुलुकमा पनि केही गैरअर्थशास्त्री अर्थमन्त्रीका रुपमा सफल भएका उदाहरण छन्। तर अर्थमन्त्रीका रुपमा सफल हुने गैरअर्थशास्त्रीको पृष्ठभूमि, अनुभव, दक्षता के थिए, धेरैले हेर्ने गरेका छैनन्। अहिले अर्थमन्त्री बन्न खोज्ने गैरअर्थशास्त्री हाम्रा नेताहरुमा अनुभव र दक्षता केही छैन। अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालय हाँकेर अर्थतन्त्रलाई सही दिशा दिन सक्ने, सर्वसाधारण, उद्योगी व्यवसायीसहित सबैको समस्या हल गर्ने क्षमता पनि देखिँदैन। त्यसैले अर्थतन्त्रको ज्ञान र अनुभव नभएको व्यक्तिलाई अहिले कुनै पनि सर्तमा अर्थमन्त्री बनाउनु हुँदैन। नागरिक दैनिकबाट…
