‘जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’ मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ। यसको अर्थ हो, ‘जितिया पर्व गर्न एकदमै गाह्रो छ, बालबच्चा सुताएर व्रतालुले थालभरि खान्छन्।’ जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईवटा भाव आउँछ, एउटा यो पर्व एकदमै गाह्रो छ र अर्को व्रतालुले थालभरि खान्छिन्।
दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध छ। जितिया पर्वबारे भविष्य पुराणमा पनि वर्णन गरिएको छ। आश्विन कृष्णपक्ष अष्टमीमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात् व्रत विधिवत् समापन गरिन्छ। थिलाञ्चलमा यो व्रत गर्नेहरू एक दिनअघिदेखि ‘सधवा’ अर्थात् ( श्रीमान् जीवितै रहेका महिला)ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाइन’ खाने चलन छ।
जितिया व्रत सुरु हुनुअघि र अष्टमी तिथि सुरुभन्दा पहिले चुडा दही खाने चलन छ, जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ। पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने भएकोले जितिया पर्व गर्न गाह्रो छ र दुई दिनसम्म उपवास बस्नुपर्ने भएकोले अष्टमी तिथि सुरु हुनुअघि दही च्युरा टन्न खानुलाई मैथिली कथनले जोडेको छ।
प्रायः अष्टमी तिथिको सुरुआत बिहान ३–४ बजेपछि हुन्छ र त्यतिबेला बालबच्चा सुतिरहेका हुन्छन्। त्यसैले मैथिलीमा भनिएको हो, ‘जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’। निराहार बस्ने यो व्रतमा अष्टमी तिथिको सुरुआतसँगै व्रतालुहरू पोखरी, नदी तथा जलाशयमा स्नान गरी पूर्वतिर फर्केर तामाको अर्घामा सूर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना चढाउँछन्।
योसँगै तेल र पिना आफ्नो पुत्रको टाउकोमा लगाइदिने प्रचलन छ। पुत्रको दीर्घायुको कामनाका साथ महिलाले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिवाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जल स्थापना गरी चारैतिर सुसज्जित पारेर पोखरी निर्माण गर्छन्। अन्नपूर्ण पोष्टबाट…
