काठमाडौँ । धेरै प्रभाव पार्न सक्ने व्यक्ति नै सामाजिक उत्प्रेरक हुन्। उनीहरूका क्रियाकलापले समाज प्रभावित हुन्छ। यसकारण उत्प्रेरक पथप्रदर्शक पनि हुन् भनिन्छ। यिनै सामाजिक उत्प्रेरकहरूले पछिल्लो समय बहसको विषय बनेको विवाहको उमेर घटाउन हुने या नहुनेबारे धारणा राखेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूले विवाह गर्ने उमेर घटाउन नहुने धारणा तर्कसहित राखेका हुन्।
डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल भएपछि चर्चा कमाएकी डडेलधुराकी पवित्रा साकी अर्थात् मिस पबीले विवाहको उमेर घटाउन नहुने बताइन्। उनले शारीरिक रूपमा हर्लक्कै भए पनि १७र१८ वर्षको उमेरमा मानिस मानसिक रूपले परिपक्व नहुने भएकाले विवाह गर्न नहुने तर्क राखिन्। ‘विवाहको उमेर घटाउनु हुँदैन। १७र१८ वर्षको उमेर भनेको बेबी माइन्ड हो,’ उनले भनिन्, ‘यो उमेरका केटाकेटीले पछिसम्मको सोच्न सक्दैनन्। त्यसैले यो उमेरमा विवाह गर्न काननुले छुट दिनुहुँदैन।’
यो उमेरमा बालबालिकालाई शिक्षादीक्षा दिएर राम्रो भविष्य बनाउन प्रेरित गर्नुपर्ने मिस पबीको भनाइ छ। विगत सम्झिँदै उनले भनिन्, ‘म जुन समाजबाट आएकी छ, त्यहाँका प्रायः छोरी मान्छेले १२ पास गर्नु पनि ठुलो कुरा हो। कतिपय समस्या समाजबाटै आउँछन् भने धेरैजसो समस्या उमेरबाटै आउँछन्। त्यसैले १८ वर्षको उमेरलाई विवाहयोग्य मान्न सकिँदैन।’
सरकार र सम्बन्धित निकायले १८ वर्षका किशोरकिशोरीलाई विवाह गर्ने अनुमति दिनुभन्दा सुन्दर भविष्य कोर्नेतर्फ प्रेरित गर्नुपर्ने उनको जिकिर छ। उनले सरकारलाई सुझाव दिइन्, ‘मुलुकमा धेरै दुर्गम क्षेत्र र विपन्न बस्ती छन्, त्यहाँ गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्याउनुस्। विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलवाड नगर्नुस्।’
यस्तै १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन हाल मानवअधिकारकर्मी हुन्। उनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी छन्। उनी पनि विवाह उमेर घटाउने प्रस्ताव गलत भएको बताउँछिन्। कलिलै उमेरमा विवाह गरेर जीवनभर पछुताएर बसेका मानिस समाजमा धेरै रहेको मुस्कानको भनाइ छ। अहिले कानुनमा भएको ‘बिहेवारी २० वर्षपारि’ नै ठिक छ, यो उमेर सीमालाई घटाउनुहुँदैन बरू सरकारले बढाउनुपर्ने उनको भनाइ छ।
‘मलाई यो विवाह गर्ने उमेर १८ वर्ष बनाउन लागेको कुरा मन परेको छैन। यो उमेर त केही गरौं भन्ने बेला हो,’ उनी भन्छिन्, ‘अहिलेको विवाह उमेर २० वर्ष र त्यसलाई घटाएर १८ मा ल्याउन गरिएको प्रस्तावमा दुई वर्षको अन्तर छ। मानिसले यो दुई वर्षमा धेरै अनुभव र ज्ञान हासिल गरेर धेरै कुरा परिवर्तन गर्न सक्छ। यसकारण विवाहको उमेर घटाउन उचित हुँदैन।’
बक्सिङ प्रशिक्षक दीपक महर्जनको मत पनि मिस पबी र मुस्कानको भन्दा फरक छैन। उनका अनुसार विवाहको उमेर घटाउँदा सबैभन्दा बढी खेल क्षेत्रमा असर पर्छ र बिहेको उमेर अझै बढाउँदा नै उपयुक्त हुन्छ। खेलाडीले सानै उमेरदेखि खेल्न सिके पनि १८, १९ र २० वर्ष भनेको उनीहरूले बिस्तारै पिकअप लिने र राम्रो प्रदर्शन गर्ने बेला हो। यो उमेरमा उनीहरूले आफ्नो क्षमता देखाउन पाउँछन् तर यही उमेरमा विवाह भयो भने क्षमता देखाउन सक्दैनन्। उनले भने, ‘नेपालमा काम नगरी जीवन बिताउन कठिन छ। आफ्नो भविष्य कोर्ने र लक्ष्य हासिल गर्ने उमेरमा विवाहमा बाँधिँदा उनीहरूको जीवन गरिबी र अन्धकारमा बित्न सक्छ। देशले अब्बल खेलाडी पनि गुमाउन सक्छ।’
सानो उमेरमा हुने शारीरिक सम्बन्धलाई अपराध मान्दै दिने सजाय कम गरेर कलिलैमा हुने विवाहलाई निरुत्साहित गर्न सकिने तर्क महर्जनको छ। प्लान इन्टरनेसनल नेपालका नीती पैरवी मेनेजर इरशाद अन्सारीले बालविवाह समाजको विकृति भएको बताए। अहिले सहरबजारमा बालविवाह नभए पनि गाउँबस्ती तथा विपन्न परिवारमा यो विकराल समस्या बनेको उनको भनाइ छ। ‘अहिले काठमाडौंमै बालविवाह हुँदैन तर ग्रामीण र विपन्न बस्तीमा हुन्छ। विवाह गर्ने उमेर घटाए भोलिका दिनमा झनै विकृति निम्तिन्छ,’ उनले भने।
स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी कविता अर्याल पनि सानै उमेरमा विवाह गर्दा शारीरिक, मानसिक र आर्थिक रूपमा समस्या निम्तिने बताउँछिन्। राज्यले नागरिकता दिएपछि बिहेगर्ने उमेर पुग्यो भनेर सोच्नु गलत भएको उनले बताइन्। यस्तै अछाम साँफेबगर नगरपालिका–४ की पशुपति कुँवर सिन विवाहको उमेर घटाउने बहस चलाउनु नै गलत भएको बताउँछिन्।
नागरिकता पाउनु, शारीरिक सम्बन्ध राख्नु, विवाह गर्नु एकदमै फरक धारणा राख्दै उनले विवाह जीवन र करिअरसँग प्रत्यक्ष जोडिएको बताइन्। उनले सानो उमेरमा विवाह गर्दा प्रजनन र गर्भधारणका हिसाबले किशोरी बढी मारमा परेको बताइन्। अहिले नेपालमा ६ लाख महिला आङ खस्ने समस्याबाट प्रभावित भइरहेको बताउँदै उनले आङ खस्ने समस्याको कारक शारीरिक रूपले परिपक्व नहुँदै यौन सम्बन्ध र गर्भधारण भएको जिकिर गरिन्। कुँवर सम विकास नेपालकी संस्थापक अध्यक्ष हुन्। यो संस्थाले विशेष गरी महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।
कहाँ र किन बालविवाह भइरहेको छ भनेर कारण खोज्न उनले सरकारलाई सुझाइन्। त्यसपछि बिहे उमेर घटाउन नहुने रहेछ भन्ने थाहा हुने उनले बताइन्।बालविवाहबाट उत्पन्न हुने समस्यालाई चित्रमा उतार्ने युवा चित्रकार विनय रिमाल पनि विवाहको उमेर घटाउने कुरा जायज नभएको तर्क गर्छन्। ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा सहभागी भई बागमती प्रदेशबाट प्रतिस्थापन कलामा उत्कृष्ट भई पुरस्कृतसमेत भएका उनले आफ्नी आमाले सानै उमेरमा विवाह गर्दा पढ्न नपाएको आफूले थाहा पाएको बताए।
बिहेको उमेर घटाउनुभन्दा बढाउनु राम्रो हुने उनको धारणा छ। रिमालले ‘म अहिले भविष्य कोर्न चाहन्छु, कसैसँग बिहे गरेर कसैको घरदैलो पोतेर बस्न चाहन्नँ’ शीर्षकमा आर्कषक चित्र कोरेर समाजमा जनचेतना फैलाइरहेका छन्। रिमालजस्तै अन्य युवा कलाकार सन्ध्या मगर, पुजन लिम्बु, अरिना लिम्बु पनि विवाहको उमेर घटाउनु हुँदैन भन्ने मत राख्छन्। अहिलेको कानुनले १८ वर्षमुनिकालाई बालबालिका भन्छ, २० वर्षभन्दा कम उमेरमा विवाह गरे÷गराए त्यसलाई बालविवाह मान्छ। कानुनले बाल विवाहलाई बर्जित गरेको छ। सरकार स्वयंले पनि बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०८० लागु गरेको छ। रणनीतिको लक्ष्य २०३० सम्म बालविवाह अन्त्य गर्ने छ।
२०७८ को जनगणनाअनुसार १५ देखि १७ वर्ष उमेरका करिब २२ प्रतिशत र १० देखि १४ वर्ष उमेरका सात प्रतिशतले विवाह गरेको देखिन्छ। सानै उमेरमा विवाह गर्नेमा निमुखा, दलित, सीमान्तकृत समुदायका बालबालिका धेरै छन्। कतिपयले विवाह उमेर घटाइयो भने बलात्कार कम हुने र बालविवाहको अवस्थामा पनि न्यूनीकरण हुने तर्क गरेका छन्।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ। समितिले यस्तो सुझाव दिएपछि यो बहसको विषय बनेको छ। नागरिक दैनिकबाट………