कोरोना संक्रमण नभइदिएको भए नेपालको एक मात्र फिरन्ते राउटे समुदायका मुखिया अहिले संघीय राजधानी काठमाडौंमा हुन्थे। सरकार प्रमुख र राजनीतिक दलका प्रमुखसँग भेट गरेर जनताका लागि दसैंखर्च जोहो गर्थे। सरकार र दाताको सहयोगले ४६वटै पालका छाप्रामा दसैंका लागि खसी–बोका बाँधिएका हुन्थे। कोरोना संक्रमणका कारण राउटे समुदाय यो वर्ष संघ राजधानी काठमाडौं मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरसमेत आउन पाएको छैन।
दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती अहिले सुनसान छ। दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै सोे समुदायमा छुट्टै रौनक हुन्थ्यो। जंगली सिकार ९बाँदर० का साथै सरकार र दाताको सहयोगबाट खरिद गरिएका खसी–बोकाले बस्ती भरिएको हुन्थ्यो। दिनदिनै बस्तीमा नाचगान चल्थ्यो। ‘कोरोनाले बस्ती सुनसान छ,’ मुखिया सूर्यनारायण शाहीले भने, ‘यो वर्ष दसैं कसरी मनाउने हो भन्ने चिन्तामा छौं।’ कोरोनाका कारण यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटे मुखियाहरूको चाहना पूरा भएन।
‘प्रधानमन्त्रीलाई भेटेको भए दसैंका लागि खसी–बोका किन्ने खर्च आउँथ्यो, जनता खुसी हुन्थे,’ मुखिया सूर्यनारायणले भने, ‘कोरोनाले काठमाडौं जान नपाउँदा दसैंखर्च जुटाउन समस्या भइरहेको छ।’ राउटे समुदायले कोरोनाका कारण आफूहरू काठमाडौं आउन नपाए पनि दसैंखर्च पठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। मुखिया वीरबहादुर शाहीले खर्च अभावमा दसैं मनाउन नसकिने अवस्था आएकाले प्रधानमन्त्रीलाई दसैंखर्च पठाइदिन आग्रह गरे। ‘यो वर्ष कोरोनाका कारण जनताले राम्रोसँग दसैं मनाउन नपाउने भए,’ उनले भने, ‘प्रधानमन्त्रीले खर्च पठाइदिए सहज हुन्थ्यो।’
सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि राउटे समुदायले साउनदेखि पाएको छैन। कोरोना संक्रमणका कारण चैतदेखि सो समुदायले जंगलमा गएर सिकार खेल्न पाएको छैन। राउटे समुदायको मुख्य पेसा काठका सामग्री बनाउने हो। कोरोना संक्रमणका कारण अहिले यो पेसा बन्दजस्तै छ। ‘काठका भाँडाकुँडा बनाएर बजारमा बिक्री गथ्र्यौं, यसले दैनिकी चलाउन सहज हुन्थ्यो,’ मुखिया वीरबहादुरले भने, ‘जंगलमा गएर काठ काट्न नपाउँदा मुख्य पेसा नै संकटमा परेको छ।’
लकडाउन हुँदा राउटे समुदाय सुर्खेतको भेरीगंगा नगरपालिकामा थियो। त्यसयता राउटे समुदाय बस्ती सर्दैसर्दै अहिले दैलेखको गुराँस गाउँपालिका पुगेको छ। कोरोनाका कारण अन्य समुदायले राउटेलाई आफ्नो बस्तीमा प्रवेश गर्न दिँदैनन्। लकडाउनअघि बनाइएका काठका सामग्री पनि उनीहरूले बिक्री गर्न पाएका छैनन्। दसैं राउटे समुदायको पनि ठूलो पर्व हो। प्रत्येक घरबाट दसैंमा खसीको बलि दिनुपर्ने मान्यता उनीहरुको समुदायमा छ।
‘दसैंमा बलि नदिए अनिष्ट हुन्छ, जनसंख्या घट्छ,’ वीरबहादुरले भने, ‘त्यसैले प्रत्येक घरबाट बलि दिनुपर्छ।’ लकडाउनका कारण खाद्यान्न संकटमा रहेका राउटे समुदायलाई भिक्षु वाङचुक राप्तेन लामाले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन्। किमोलुङ फाउन्डेसनका अध्यक्षसमेत रहेका भिक्षु वाङचुक राप्तेनले राउटे समुदायको बस्तीमै पुगेर खाद्यान्न सहयोग गरेका हुन्। नागरिक दैनिकबाट…
