भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारत र चीनले युद्धसम्बन्धी मस्कोमा के गरे सहमति ?


  • भाद्र २७, २०७७
  • 461 Views
भारत र चीनले युद्धसम्बन्धी मस्कोमा के गरे सहमति ? image

काठमाडौं । भारत र चीनका परराष्ट्रमन्त्रीले करिब तीन महिनादेखि लद्दाखको गलवान उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी सैन्य तनाव अन्त्य गर्ने सहमति गरेका छन् ।

आइतबार सीमा क्षेत्रमा राति हवाईफायर भएपछि आरोप–प्रत्यारोप चलिरहँदा रुसको मस्कोमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वांग यीबीच बिहीबार पाँचबुँदे सहमति भएको छ । सांघाई को–अपरेसन अर्गनाइजेसन ९एससिओ०का परराष्ट्रमन्त्रीहरूको बैठकमा गएका जयशंकर र वांगबीच वार्ताको परिस्थिति रुसी परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले तयार गरिदिएका थिए ।

दुई मन्त्रीबीच सीमा क्षेत्रमा तनाब बढेसँगै ३ असारमा टेलिफोन कुराकानी भएको थियो भने त्यसपछि मस्कोमा पहिलोपटक प्रत्यक्ष संवाद भएको हो । भारत र चीनका परराष्ट्रमन्त्रीहरूबीच करिब अढाइ घन्टा चलेको वार्ताअघि भारत, चीन र रुसका परराष्ट्रमन्त्रीहरूबीच डेढ घन्टा लामो छलफल भएको थियो । प्रतिनिधिमण्डलस्तरीय वार्तामा भारत र चीनबीच खुला र हार्दिक रूपमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सहमति अर्को पक्षले पालना गरे सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम हुने प्रतिक्रिया दिएका छन् । सहमतिलगत्तै चिनियाँ विदेशमन्त्रीले सीमामा भारतसँग तनाव कम गर्न चीन सरकार ठोस कदम उठाउन तयार रहेको बताएका छन् । उनीहरूको सहमतिसँगै हिमालय क्षेत्रमा युद्धको सम्भावना टरेको छ भने रुसले सन् १९६५ मा भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको वार्ता गराएजस्तै यसपटक भारत र चीनका परराष्ट्रमन्त्रीहरूबीच वार्ताका लागि सहजीकरण गरेर यो क्षेत्रमा आफ्नो शक्तिको पुनः पुष्टि गरेकोे छ ।

गत साता मस्कोमै भएको दुई देशका रक्षामन्त्रीस्तरीय वार्ता दुवै पक्ष आ–आफ्ना धारणा राख्नेमा सीमित भएको थियो । उनीहरूले पाँचबुँदे सहमतिको पहिलो बुँदामै शीर्ष नेताहरूबीच विभिन्न समयमा भएका सहमतिहरूका आधारमा दुई देशबीचका मतभिन्नताहरूलाई विवादमा परिणत हुन नदिने उल्लेख गरेका छन् । ‘सीमा क्षेत्रमा विकसित वर्तमान परिस्थिति कुनै पनि पक्षको हितमा छैन ।

त्यसैले उनीहरूले सहमति गरेका छन् दुवैतर्फका सीमासुरक्षा फौजले संवादलाई निरन्तरता दिनुपर्छ, तत्कालै हट्नुपर्दछ, निश्चित दूरी कायम गर्नुपर्छ र तनावबाट सहज परिस्थिति निर्माण गर्नुपर्छ,’ सहमतिको दोस्रो बुँदामा छ । तेस्रो बुँदामा भनिएको छ, ‘भारत–चीनले सीमा मामिला सम्बन्धमा विद्यमान सम्झौता तथा प्रोटोकल पालना गर्नेछन्, सीमा क्षेत्रमा शान्ति कायम राख्नेछन् तथा तनाव बढाउने विषयहरूलाई बेवास्ता गर्नेछन् ।’

चौथो बुँदामा उनीहरूले सीमा प्रश्नमा दुई देशका विशेष प्रतिनिधिस्तरीय संयन्त्रमार्फत संवाद र सम्पर्क निरन्तर गर्ने सहमति गरेका छन् । भारत–चीन सीमा मामिलाका सन्दर्भमा समन्वय र परामर्शका लागि गठित कार्य संयन्त्रको बैठक पनि निरन्तर राख्नुपर्नेमा जोड दिएका छन् । परिस्थिति सहज भएपछि दुवै पक्षबीच सीमा क्षेत्रमा शान्ति कायम गर्न विश्वासको वातावरण सिर्जना गर्ने उपाय अघि बढाउनुपर्नेमा पनि दुवै परराष्ट्रमन्त्रीले सहमति गरेका छन् ।

दुई सेनाबीच २१ भदौ राति लद्दाखस्थित सीमा क्षेत्रमा हवाई फायर भएपछि हिमालय क्षेत्रमा तनाव थपिएको थियो । नेपाल र भुटान जोडिएका त्रिदेशीय बिन्दुमा भारत र चीन दुवैले भारी मात्रामा सैनिक र हतियार बख्तरबन्द परिचालन गरेसँगै हिमालयमा युद्धको अड्कलबाजी भइरहेको थियो । सन् १९७५ मा अरुणाचल प्रदेशमा आसाम राइफलका जवान चिनियाँ एम्बुसमा परेयता भारत–चीन सीमा क्षेत्रमा पहिलोपटक यस्तो घटना भएको थियो ।

हुन त १ असारमा दुई सैनिकबीच गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । सीमा क्षेत्रमा तनाव कायम रहे पनि भारत–चीनबीच कूटनीतिक एवं सैन्य तहमा संवाद भइरहेको छ । तीन महिनायता सीमा क्षेत्रबाट क्रमशः पछि हट्दै जाने सैद्धान्तिक सहमति गरे पनि दुवैका सर्त एक–अर्काले मानेका छैनन् । लद्दाखमा भारततर्फ गुरुङ हिल, मगर हिल, हेल्मेट टप, चुसुललगायत क्षेत्रमा एकतर्फ भारतीय सेना र अर्कोतर्फ चिनियाँ सेनाको बाक्लो उपस्थिति छ ।

गलवान उपत्यका र लद्दाखआसपासमा भारतीय र चिनियाँ ठूलो संख्यामा हवाई मिसाइलसहित तैनाथ छन् । उनीहरूले आन्तरिक युद्ध अभ्यास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवादित प्योङगोङ तालको १३५ किलोमिटर लम्बाइमध्ये ९० किलोमिटर चीनसँग र ४५ किलोमिटर भारततर्फ छ ।

१९ भदौमा लद्दाख पुगेका भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले सञ्चारमाध्यमसँगको कुराकानीमा सीमा क्षेत्रको स्थिति नाजुक रहेको र भारतीय सेनाले आफ्नो तयारी गरिरहेको बताएका थिए । तीन महिनापूर्वको यथास्थिति फर्काउन भारत र चीनबीच निरन्तर संवाद हुँदै आएको छ । दुई सैनिकबीच १ असारमा भएको झडपपछि दोस्रोपटक १३ र १४ भदौमा प्योङगाङको दक्षिण क्षेत्रमा झडप भएको थियो । त्यसपछि २१ भदौमा हवाई फायर भएको थियो ।

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.