‘गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुरलाई अझ धेरै फाइदा हुन्छ भनेकाले आन्दोलनमा गएको थिएँ, अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आयो ।’ संयोग यस्तो जुर्यो कि देवीप्रसाद सिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाना बोकेको ‘हाम्रो टिम नेपाल’ को गाडी खुलामञ्चमा र गाँस–बासलाई मौलिक हकमा राखिएको संविधानको छैटौं वार्षिकोत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सैनिक मञ्चमा सँगसँगै छिरे ।
बारभन्दा पारि सैनिक मञ्चमा संविधान दिवसको पुष्पवृष्टि र हर्षोल्लास भइरहँदा शनिबार वारि खुलामञ्चमा सहयोगीले खुवाएको खानाले भोक टार्दै थिए सर्वसाधारण । यता गाँसका लागि आँखा बिछ्याएकाहरू लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो । सेनाको कलाकौशलसहितको धुनले भनिरहेको थियो, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’
त्यसको केहीबेरमा संविधान दिवसको ब्यानर बोकेर फन्का मारेको हेलिकप्टरले सिवाकोटीजस्तै खानाका लागि खुलामञ्चमा भेला भएकाहरूको ध्यान खिच्यो । नजिकै बजिरहेका गाडीका हर्नसमेत फिक्का सुनिने गरी हेलिकप्टरको आवाज आयो । उनले निधारमा हातको छेको पारेर उडिरहेको हेलिकप्टरतिरै हेरे र झुन्डिएको ब्यानरका अक्षरमा आँखा दौडाए ।
०००
‘त्यहाँ लेखेको अक्षर पढ्न सक्नु भयो ?’
‘किन नसक्नु त्यति ठूला अक्षर छन्,’ हाम्रो प्रश्नमा उनले भने, ‘संविधान दिवस २०७७ ।’ उनले थपे, ‘संविधान बनाउनेको मन पो सानो छ त १’ संविधान दिवस सम्झाउन ब्यानर र पुष्पवृष्टि गर्न फूलका थुँगाहरू बोकेर उडेका हेलिकप्टर टुँडिखेलको आकाशबाट बिस्तारै ओझेल पर्दै गए, दुई दिनअघिबाट मात्रै चल्न थालेका गाडीका हर्न फेरि बज्न थाले । त्यसपछि हामीले उनलाई केही सोध्नै परेन, पुराना स्मृतिमा खुरुरु दौडिए । २०४६ सालमा काठमाडौं छिरेका उनलाई त्यो बेलाको आन्दोलन हल्काफुल्का याद छ । तर २०६२र६३ को जनआन्दोलनमा भने उनी जमेरै लागे । पुतलीसडक र बागबजारमा धेरै पटक प्रहरीसँग जम्काभेट भयो ।
उनले बारम्बार आन्दोलनको भीडमा बर्सिएको इँटाको प्रहार सहँदै गणतन्त्रका लागि नारा लगाएका हुन् त्यतिखेर । २०७२ को संविधान जारी हुने बेलामा पनि सिवाकोटी खुब हौसिए । उनलाई आफूजस्तै मजदुरहरू सडकमा उत्रिएकै कारण गणतन्त्र आएको आभास भइरहन्थ्यो । परिवर्तित व्यवस्थाप्रति उनको अपनत्व थियो । त्यसैले त्यो दिन पनि उनले उत्सव मनाए । ‘गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुरलाई अझ धेरै फाइदा हुन्छ भनेकाले आन्दोलनमा गएको थिएँ,’ उनले भने, ‘अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आयो ।’ उनलाई संविधानले प्रत्याभूत गरेका अधिकारबारे सबै कुरा थाहा रहेछ तर संविधानमै लेखिएको कुरा पनि पूरा नभएकामा दुःखमनाउ गरे ।
होटलमा मजदुरी गरेर जहान–परिवार पाल्दै आएका सिवाकोटी लकडाउनलगत्तै होटल बन्द भएपछि विलखबन्दमा परेका हुन् । सुरुसुरुमा उनलाई दुःखका बेला सरकारले हेर्छ भन्ने आस थियो तर परिस्थिति झन् बिग्रिँदै गयो । कोठाका भाँडाकुँडासँगै पेट पनि रित्तो हुन थालेपछि भोक खप्न नसकेर उनी खुलामञ्च धाउन थाले । छिमेकको सैनिक मञ्च र त्यसमाथिको आकाशको तामझाम भने उनले लकडाउनपछि पहिलो पटक देखे । ‘यहीं भाषण गरेर राजा फालेका नेता पर्खालपारि छन्,’ उनले भने, ‘हामीलाई कसले हेर्छ र ?’
०००
सैनिक मञ्चको सुरक्षा व्यवस्था पनि यति कडा थियो कि पोहोर परारझैं नागरिकले संविधान दिवसको कार्यक्रम रेलिङमा झुन्डिएर हेर्न त के आसपासमा हिँड्नसमेत पाएका थिएनन् । कान्तिपुर दैनिकबाट…
