परराष्ट्रको पहल कर्मकाण्डी मात्र, कुशको दाहसंस्कार गर्दै आफन्त


  • बैशाख २, २०८१
  • 12 Views
परराष्ट्रको पहल कर्मकाण्डी मात्र, कुशको दाहसंस्कार गर्दै आफन्त image

काठमाडौँ । गत माघ पहिलो साता युक्रेनको दोनवासबाट काठमाडौंकी बुद्धिमाया तामाङलाई फोन आयो, ‘तपाईंको श्रीमान् शुक्रबहादुरको युक्रेनसँग युद्ध लड्न गएको पहिलो दिनमा नै मृत्यु भयो ।’ खबर दिनेमा झोर महाँकाल–६, काठमाडौंका ४८ वर्षीय शुक्रबहादुरका साथीहरूमध्येका एक थिए । परिवारका अनुसार शुक्रबहादुरको समूहमा ४८ जना थिए । शुक्रबहादुरको मृत्युबारे भने फरक–फरक खबर थिए ।

परराष्ट्रको पहल कर्मकाण्डी मात्र, कुशको दाहसंस्कार गर्दै आफन्त शुक्रको मृत्यु कोही अस्पतालमा भएको भनिरहेका थिए भने कोही युद्ध मैदानमै भएको बताइरहेका थिए । बुद्धिमायाले दुवैसँग प्रमाण पठाइदिन भने पनि यसरी खबर दिने दुवैले मृत्युको अरू कुनै प्रमाण दिएनन् ।

‘कसैले आमुन्नेसामुन्ने गोली चलाउँदा मृत्यु भएको भन्छ, कसैले हात छिनेर अस्पताल लगिएकोमा त्यहीं ज्यान गयो भन्छन् । तर प्रमाण कोही दिन सक्तैनन्,’ बुद्धिमायाले कान्तिपुरसँग भनिन्, ‘हामीलाई केही त केही एउटा प्रमाण चाहियो । प्रमाणबिना कसरी मान्छेको मृत्युलाई विश्वास गर्न सकिन्छ ?’

बिनाप्रमाण दिएको सूचनालाई नपत्याउने भनेपछि बुद्धिमायाको दोनवासमा रहेका नेपालीको समूहसँग सम्पर्क टुटेको छ । गत पुस २८ देखि उनको शुक्रसँग सम्पर्क भएको छैन । ‘मेरो मान्छे जीवित छ,’ उनलाई विश्वास छ, ‘उहाँ एक दिन अवश्य आउनुहुन्छ ।’ युद्धमा गएका सोही समूहकामध्ये रूपन्देहीका लालबहादुर बुढा, नेत्रबहादुर घर्ती, शिवालय–५ जाजरकोटका नवीन शाही, भैरवी–२ दैलखका प्रेमबहादुर थापा, मेलौली–२ बैतडीका मनोजसिंह भाट, सिन्धुलीका कमल थापा, खोटाङका विनोद राई र प्रकाश गुरुङ पनि परिवारसँग सम्पर्कमा छैनन् ।

युद्धमा लड्न गएका साथीहरूले दिएको सूचनाका आधारमा लालबहादुर र नेत्रबहादुरका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । उनीहरू आफ्नै भिनाजु र साला हुन् । एकातिर मृत्यु भएका भनिएका परिवारले साथीहरूले दिएको सूचनाका आधारमा दाहसंस्कार गर्नुपरेको छ भने अर्कोतिर बिनाप्रमाण आएका सूचनाको पुष्टि नहुँदा परिवारलाई झन् मानसिक यातना सहनु परिरहेको छ । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । तर हालसम्म उनीहरूको शव कहिले नेपाल आइपुग्छ भन्नेबारे न नेपाल सरकारलाई थाहा छ, न त उनीहरूको परिवारसँग भरपर्दो सूचना नै छ ।

रुसी सरकारले पनि नेपालमा शव पठाउने वचन दिए पनि त्यसको कार्यान्वयन कहिलेबाट कसरी सुरु हुन्छ भन्ने टुंगो लागेको छैन । फलतः रुसी सेनामा भर्ती भएकाहरूको परिवारजनहरूमा अत्यासलाग्दो छटपटी जारी छ ।

रुसमा भर्ती भई लडिरहेका र घाइते भएकाहरूलाई फिर्ता पठाउन र मृत्यु भएकाहरूको शव र क्षतिपूर्ति पठाउन परराष्ट्र मन्त्रालयले पटकपटक कूटनीतिक नोट पठाइसकेको छ । काठमाडौंस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर रुसी सेनामा भर्ती भएको नेपालीबारे सूचना दिन पनि परराष्ट्रले आग्रह गरिसकेको छ ।

यसका अलाबा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूको उद्धारका लागि नेपालले रुससँग उच्च तहको संवाद पनि गरिसकेको छ । तर ती सबै प्रयत्नबाट कुनै पनि उपलब्धि हासिल भइसकेको देखिन्न ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ रुसी सेनामा भर्ती भएका नेपालीहरूका बारेमा सरकारले गम्भीर भएर काम गरिरहेको बताउँछन् । उनले भने, ‘हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेका छौं । हामीले आफ्ना नागरिकको हितमा हुने गरी सबै पक्षबाट पहल गरिरहेका छौं ।’

उनले नेपाली पक्षले रुसी पक्षसँग रुसी सेना भर्ती भएर युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीहरूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, युद्धमा घाइते भएका र रुसी सेनामा भर्ना सबैलाई फिर्ता पठाइदिन, नेपालीहरूलाई रुसी सेनामा भर्ती नगराउन, रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या नेपाल सरकारलाई जानकारी दिन, रुसी सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा परेकाको जानकारी दिन तथा उच्च तहको भ्रमण मिलाउन आग्रह गरिरहेको पनि बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म रुसी पक्षबाट भने शव नेपाल पठाइदिन्छौं र मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति दिन्छौं भन्नेबाहेक कुनै पनि विषयमा थप जवाफ आएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले फागुन २४ मा रुसी विदेशमन्त्री सर्गेर्ई लाभ्रोभसँग यही विषयमा टेलिफोन संवाद गरेका थिए । उक्त कुराकानीमा पनि रुसी पक्षसँग उनले उही कुरालाई जोड दिएका थिए ।

तर त्यस बेला पनि रुसी विदेशमन्त्री लाभ्रोभले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न चाहेनन् । उक्त कुराकानीमा श्रेष्ठले लाभ्रोभसँगको कुराकानीमा सम्भव भए रुसबाट नेपाल भ्रमण वा नेपालबाट रुस भ्रमण गर्न आग्रह गरेका थिए । तर त्यसबारे पनि रुसले कुनै प्रतिक्रिया दिएको छैन ।

श्रेष्ठअघिका परराष्ट्रमन्त्री एनपी साउदले पनि नेपालीहरूको अवस्था बुझ्नका लागि आफू मस्को भ्रमण गर्न तयार रहेको रुसी पक्षलाई बताएका थिए । तर मस्कोबाट त्यतिबेला पनि कुनै सकारात्मक सन्देश आएन ।

रुसी सेनामा नेपालीहरूको प्रयोगको सम्बन्धमा पहिलो पटक साउन १६ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र ९भारत र बेलायत० बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको उल्लेख गरेको थियो । दोस्रो पटक, मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दिएको थियो ।

रुसका लागि नेपाली राजदूतले पनि मस्कोस्थित परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । यसका अलाबा मंसिर तेस्रो साता काठमाडौंस्थित रुसी राजदूत एलेक्सेईलाई बोलाएर सरकारले यही विषयमा कूटनीतिक नोट हस्तान्तरण गरेको थियो । पुस ४ मा पनि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूतलाई बोलाएर नेपालीलाई पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र फिर्ता गर्न आग्रह गरेका थिए ।

त्यसअघि माघ पहिलो साता युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा तत्कालीन परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री वर्सिनिन सर्गेई वसिलिइविचसँग भेटघाट गरेका थिए उक्त भेटमा परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीको गैरकानुनी भर्तीबारे नेपालको असन्तुष्टि राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले फागुन २४ मा रुसी राजदूत नोभिकोभलाई फेरि मन्त्रालयमा बोलाएर अहिलेको परिस्थितिमा नेपाल वा रुसबाट उच्च तहको भ्रमण आवश्यक रहेको बताएका थिए । यद्यपि रुसी पक्षबाट त्यो स्वीकार भएको छैन । तर चैत ७ मा अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा रुसी राजदूत नोभिकोभले नेपालीहरूलाई रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी गरेका थिए ।

उनले उल्टै अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने भनाइ राखेका थिए । नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर भए पनि मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिएका थिए । नोभिकोभले भनेका थिए ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ ।’

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी रुसी सेनामा आबद्ध भएका परिवारहरू ठूलो मानसिक तनावबाट गुज्रिरहनुपरेकी बताइन् । ‘रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूचना सार्वजनिक गर्न सरकार चुकिरहेको छ ।

सरकारले मृत्युको पुष्टि भइसकेको शव पनि ल्याउन ठोस कूटनीतिक कदम चाल्न नसक्नु हाम्रा लागि दुःखद विषय हो,’ उनले भनिन्, ‘कहिलेसम्म आफ्ना प्रियजनको शव पर्खेर बस्नुपर्ने हो रु क्षतिपूर्ति कहिले कसरी आउने हो रु यसमा राज्यले आफ्नो अभिभावकत्व देखाउन सक्नुपर्छ ।’ कान्तिपुर दैनिकबाट…


hotelghyampedanda